जनता टाइम्स

१४ पुष २०८१, आईतवार १४:५४

बागमतीका सामाजिक बिकाशमन्त्री हरिप्रभाको ‘सर्वाेत्कृष्ट’ काम : अस्पतालको अध्यक्षमा नियुक्त गरिन आफ्नै श्रीमान


हेटौंडा, पुस १४ । बागमती प्रदेशकी सामाजिक बिकाश मन्त्री हरिप्रभा खडगीले सुशासनको खिल्ली उडाउँदै आफ्नै पतिलाई अध्यक्षमा नियुक्त गर्नुभएको छ । मन्त्री खडगीले आफ्नै मन्त्रालय मातहतको अस्पतालको अध्यक्षमा नियुक्त गर्नुभएको हो ।

बागमती प्रदेशका सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले भागबन्डा गरेर अस्पतालको अध्यक्ष नियुक्त गरेका छन । कांग्रेसको भागमा परेको कोटाबाट मन्त्री खडगीले आफ्ना श्रीमान प्रकाशलाई अध्यक्ष नियुक्त गर्नुभएको हो ।

मन्त्री खड्गीले श्रीमान प्रकाशलाई टोखा चण्डेश्वरी अस्पताल काठमाडौंको अध्यक्ष नियुक्त गर्नुभएको छ । बागमती प्रदेशका १२ अस्पतालहरुमध्ये कांग्रेस–एमालेले ६–६ वटा नेतृत्व लिनेगरी भागबन्डा गरेका छन । प्रदेशका स्वास्थ्य मन्त्रालयले नयाँ स्वास्थ्य सेवा ऐन, २०७५ पहिलो संशोधन जारी भएपछि मंसिर २७ गते तथा पुस ८ र ९ गते ११ वटा अस्पतालको अध्यक्षमा नियुक्त गरिसकेको छ ।

भागबण्डाअनुसार कांग्रेसले काठमाडौं, रामेछाप, सिन्धुली, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक तथा एमालेले चितवन, धादिङ, काभ्रे, भक्तपुर, दोलखा र ललितपुर लिने गरी सहमति गरेका छन । सो सहमति अनुसार काठमाडौंको टोखा चण्डेश्वरी अस्पतालमा प्रकाश खड्गी, रामेछाप अस्पतालमा यमकुमार पाख्रिन, नुवाकोटको त्रिशूली अस्पतालमा उपेन्द्र बुढाथोकी नियुक्त हुनुभएको छ ।

नुवाकोटकै आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको अध्यक्षमा शिवकुमार चित्रकार नियुक्त हुनुभएको छ । यसैगरी रसुवा अस्पतालमा विवश श्रेष्ठ र सिन्धुपाल्चोकको चौतारा अस्पतालमा केशवराज गिरीलाई नियुक्त गरिएको छ । सिन्धुलीमा भने कांग्रेसभित्रै बिवाद भएकोले नियुक्त हुन सकेको छैन ।

एमालेको भागमा परेको चितवनको बकुलहर रत्ननगर अस्पतालमा गोपाल कर्माचार्य, धादिङ अस्पतालमा राधिका सापकोटा र काभ्रेको मेथिनकोट अस्पतालमा विष्णुप्रसाद खनाल नियुक्त हुनुभएको छ । यस्तै भक्तपुर अस्पतालमा प्रदेशका पूर्वसांसद शशीजंग थापा नियुक्त हुनुभएको छ । यस्तै दोलखाको पशुपति चौलागाई स्मृति अस्पतालमा सुवास रिमाल र ललितपुरको बज्रबाराही चापागाउँ अस्पतालमा रामहरि घिमिरे नियुक्त हुनुभएको छ ।

यता प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद् (सीटीईभिटी) को प्रमुख कार्यकारी निर्देशक नियुक्तिलाई लिएर मुख्यमन्त्री बाहादुरसिंह लामा र मन्त्री खडगीबीच लफडा भएको छ । यही पुस ११ गते बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले सो पदमा शान्ति लामालाई नियुक्त गरेको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैह्रे संयोजकत्वको सिफारिस समितिले सीटीईभीटीको निर्देशक नियुक्तिका लागि नुवाकोटकी लामा, मध्यपुरठिमी नगरपालिकाका बद्रीप्रसाद दाहाल र चितवन भरतपुरका ईश्वरचन्द्र पौड्यालको नाम सिफारिस गरेको थियो । मन्त्री खड्गीले दाहालको पक्ष लिए पनि मुख्यमन्त्री लामाले आफ्नै जिल्लाका लामा नियुक्त गर्नुभएको हो ।