जनता टाइम्स

७ कार्तिक २०७६, बिहीबार ०७:५५

नाम सम्मेलनमा सहभागी हुन आज बाकु जाँदै प्रधानमन्त्री ओली, यस्तो छ विश्वलाई दिने नेपालको सन्देश


काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा सहभागी हुन अजरबैजान जादै हुनुहुन्छ । उहा आज अजरबैजानको राजधानी बाकु जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली बिहान ११ बजे कतार एयरवेजको विमानमार्फत बाकुतर्फ प्रस्थान गर्ने उहाका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

शिखर सम्मेलनलाई प्रधानमन्त्री ओलीले शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ । नेपालको कूटनीतिक पाटोको मुख्य अांशका रूपमा रहेको असंलग्नताको अपरिहार्यता रहेको भन्दै प्रधानमन्त्री अजरबैजानको बाकु जान लाग्नु भएको हो । ‘असंलग्नताको महत्त्व अहिले झन् बढेको र नेपालजस्ता मुलुकका लागि यसको अपरिहार्यता विशेष छ’, प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘पछिल्लो समय विश्व शीतयुद्धमा नभए पनि अनेकन युद्धको त्रास बाँकी रहेकाले पनि असंलग्नता अपरिहार्य आवश्यक छ।’

नेपालको संविधानमा असंलग्नता सिद्धान्तलाई अंगीकार गरिएको छ । शीतयुद्धकालीन अवस्थामा अघि बढेको बाङडुङ सिद्धान्तको अपरिहार्यता अहिले पनि उस्तै रहेको उहाको धारणा छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बुधबार नै विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी भई नेपालको धारणा राखिसक्नु भएको छ ।

सम्मेलनमा सहभागी हुन परराष्ट्रसचिव शंकरदास बैरागी जापानबाटै बाकु पुग्नु भएको छ । असंलग्न मुलुकबीच द्वन्द्व चर्किरहेको विषयलाई नेपालले जोड दिँदै सहकार्य नै विकासको पहिलो कदम हुने धारणा राख्ने भएको छ ।

प्रेस संयोजक अधिकारीका अनुसार, प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायत पनि बाकु जाने कार्यक्रम छ । प्रधानमन्त्री ओली सम्मेलन सकाएर कात्तिक १० गते आइतबार लक्ष्मीपूजाका दिन स्वदेश फर्कने कार्यक्रम रहेको छ ।