जनता टाइम्स

१५ पुष २०८१, सोमबार १३:३८

अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हदले नेतृत्वको प्रतिस्पर्धाबाटै बाहिरिए नेताका उम्मेदवार, यी हुन घर जान बाध्य भएका बिद्यार्थी नेता


काठमाडौं, पुस १५ । नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा मतदानबाट ३२ वर्षे उमेर हद कायम भएपछि अध्यक्षमा दाबी गरिरहेका डेढ दर्जन नेता नै आउट भएका छन । ३२ बर्षे उमेर हदको पक्षको जीत भएसँगै नेतृत्वका लागि दावेदार रहेका अधिकांश उम्मेदवार आउट भएका हुन ।

चुनावबाट आएको परिणमले उमेर हद कायम हुँदा अहिले उपमहासचिव र त्योभन्दा तल्लो वरीयता रहेका विद्यार्थी नेताहरूको बाहुल्य हुने भएको छ । ३२ वर्षे उमेर हद लाग्ने कि नलाग्ने भन्ने विषयमा मतदान हुँदा उमेर हद लाग्ने पक्षमा बहुमत आएको थियो ।

शनिबार भएको निर्वाचनको आइतबार मध्यराति सार्वजनिक भएको मतपरिणाम अनुसार उमेर हद लागू गर्नुपर्ने पक्षमा ९ सय र उमेर हद लागू नगरी खुला प्रतिस्पर्धा गर्नुपर्ने पक्षमा ८ सय ७९ मत परेको छ । उमेर हदको पक्षमा २१ मत बढी पर्दा नेतृत्व लिन तम्सिएका सवै बिद्यार्थी नेता घर जानुपरेको छ । यो परिणामपछि अखिल क्रान्तिकारीमा उमेर हद सबै तहका कमिटीमा लागू हुनेछ । अखिल क्रान्तिकारीको इकाइ कमिटीमा यसअघि नै ३२ वर्षे उमेर हद लागू भइसकेको छ ।

अखिल क्रान्तिकारीको नयाँ कार्यसमिति चुन्दा उमेर हद लाग्ने कि नलाग्ने भन्ने विषयमा विवाद थियो । यही विवादका कारण गत असोज १० गतेदेखि काठमाडौंको कीर्तिपुरमा आयोजित २३ औं राष्ट्रिय सम्मेलन नेतृत्व चयन नगरी स्थगित भयो । यो विवादको छिनोफानो मतदानबाट गरिएको हो । अब ३२ वर्षसम्मकाले मात्र प्रतिस्पर्धा गर्न पाउने गरी अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरु चुनिने छन । नयाँ कार्यसमिति चयनका लागि आगामी माघ १२ गते निर्वाचन कार्यक्रम तोकिएको छ ।

अखिल क्रान्तिकारीको विधानमा २४३ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरिएको छ । पदाधिकारी ३३ जना रहने गरी बनाइएको विधानमा उपाध्यक्ष ९, महासचिव १, उपमहासचिव ९, सचिव १२, कोषाध्यक्ष १ रहने गरी प्रावधान बनाइएको छ । उमेर हद लागू हुँदा २२ औं सम्मेलनबाट निर्वाचित १७ उपाध्यक्षहरू प्रतिस्पर्धाबाटै बाहिरिएका छन ।

उपाध्यक्षहरु इन्द्र भुसाल, नरेश रेग्मी, पवन कार्की, मदन भूल, मदन भट्टराई, नारायण खनाल, जीपी मैनाली, क्षितिज सापकोटा, केशव रावल, डा. अच्युत भट्ट, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, सूर्यनारायण साह, गजेन्द्र देव लगायत प्रतिस्पर्धाबाट बाहिरिएका हुन । यस्तै महासचिव दिपेश पुन पनि बाहिरिएका छन ।

योसँगै निवर्तमान उपमहासचिव र तल्लो वरीयतामा रहेकाहरूको नयाँ कार्यसमितिको नेतृत्वमा दबदबा रहने देखिएको छ । ३२ वर्षे उमेर हद कायम हुँदा कोशीबाट हेमन्त राई अध्यक्षको आकांक्षी हुनुहुन्छ । सुदन किराँती निकट राई केन्द्रमा उपमहासचिव शर्मा पक्षधर हुनुहुनछ । यस्तै बागमतीबाट अध्यक्षमा रोशन थापामगर आकांक्षी देखिनुभएको छ । जनार्दन पक्षधर रोशन हाल सचिव हुनुहुन्छ ।

बागमतीबाट अघिल्लो कमिटीमा उपमहासचिव रहनुभएका सुरजसिंह ठकुरीले पनि अध्यक्षमा दाबी गर्नुभएको छ । ठकुरी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट हुनुहुन्छ । यस्र्त गण्डकीबाट नारायण बडाल र सुदिन पौडेल लुम्बिनीबाट राजेन्द्र विष्ट, कर्णालीका तिर्सना हमाल र योगेन्द्र बुढा अध्यक्षका दावेदार देखिनुभएको छ ।

यस्तै सुदूरपश्चिमबाट पार्वती नेगीले अध्यक्षमा दाबी गर्नुभएको छ । उमेर हद लागू गर्दा महासचिवमा मदन ढकाल, देवेन्द्र शर्मा, आरती शर्मा, लगायत आकांक्षी देखिनुभएको छ ।यस्तै देवेन्द्र शर्मा, आरती शर्मा पनि महासचिवको दावेदार देखिनुभएको छ । नेताको तोकआदेशमा नभई प्रतिनिधिको मतका आधारमा नेतृत्व लिनुपर्ने भएपछि यसपटक नेता निकट मानिएकाहरु कमजोर बन्ने अवस्था देखिएको छ ।