जनता टाइम्स

१५ पुष २०८१, सोमबार १५:३५

आफ्नै पार्टी घोषणा गर्दै भीम रावल


काठमाडौं, पुस १५ । नेकपा एमालेबाट निष्काशननमा परेका नेता डा. भीम रावलले आगामी बुधबार (पुस १७ गते) पार्टी घोषणा गर्ने भएका छन।

रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिनुभएको थियो ।

रावलनिकट स्रोतका अनुसार आगामी बुधबार दिउँसो १ बजे पार्टी घोषणा गर्नेगरी पत्रकार सम्मेलन आयोजना हुने भएको छ । काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन हुने जनाइएको छ । सोमबार बिहान मात्रै उनले नेपाली कांग्रेस (बीपी) का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गर्नुभएको छ । मल्ल कांग्रेस डडेल्धुराका पूर्वसभापति हुन ।

उहाँहरूबीच टोखास्थित निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर बलियो शक्ति निर्माण गर्नुपर्ने प्रस्ताव राखेको बताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासँगको सम्बन्ध बिग्रिएपछि उहाँ कांग्रेस बीपीतिर लाग्नुभएको थियो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उहाँले देउवाविरुद्ध प्रतिस्पर्धा गर्नुभएको थियो ।

जोशी नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुनुहुन्छ। २०७९ को निर्वाचनमा डडेल्धुरा प्रतिनिधिसभाअन्तर्गतको प्रदेश सभा २ बाट टिकट नपाएपछि उहाँ स्वतन्त्र उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित हुनुभएको थियो ।

एमालेका पूर्वउपाध्यक्ष रावल पार्टीले साधरण सदस्यबाट निष्काशन गर्नुअघिबाटै नयाँ पार्टी गठनको तयारीमा रहनुभएको थियो । उहाँको सोही गृहकार्यपछि सचिवालय बैठकले उहाँलाई सदस्यबाट समेत निष्काशन गरेको थियो । निष्काशनलगत्तैबाट रावलले खुल्ला रुपमा नयाँ पार्टी गठनको काम बाहिर ल्याउनु भएको छ ।