काठमाडौं, पुस १५ । काठमाडौंको दरबारमार्गस्थित महेन्द्र शालिक नजिक रहेको लिक्विड लन्च बारमा युवामाथि हतियारसहित आक्रमण गरेको आरोपमा पक्राउ परेका तरुण दलका केन्द्रीय सदस्यसहित आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान अघि बढाइएको छ ।
गत पुस ६ गते लिक्विड क्लबमा भएको आक्रमणमा बैतडीका ३६ वर्षीय रमेश भट्ट घाइते हुनुभएको थियो । भट्टलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । घाइते भट्ट गृहमन्त्री रमेश लेखकका नातेदार समेत रहेको खुलेको छ । घटना भएको केही समयपछि नै घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको थियो ।
सो घटनामा नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलका केन्द्रीय सदस्य कुलध्वज तामाङ र तरुण दल काभ्रेका अध्यक्ष सुजन तामाङसहित ८ जना पक्राउ परेका थिए । पक्राउ परेकाविरुद्ध प्रहरीले अहिले ज्यान मार्ने उद्योगको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।
कुलध्वज र सुजनसहित पब्लिक युथ क्याम्पस धोबीचौरका स्ववियु उपसभापति मिलन लामा, भुम्लु गाउँपालिका कार्यपालिका सदस्य सुलभ पहरी, तरुण दल काभ्रेका जिल्ला सदस्य युवराज लामा, मोरङका उर्लाबारी–७ का डम्बरबहादुर कार्की, तरुण दल सिन्धुपालचोकको जुगल गाउँपालिका अध्यक्ष दावा तामाङ र काभ्रे तेमाल–५ का शक्ति लामालाई अहिले हिरासतमा राखिएको छ ।
केन्द्रीय सदस्य कुलध्वजविरुद्ध पनि २०६९ सालमा ज्यान मार्ने उद्योगमा प्रहरी वृत्त दरबारमार्गबाट मुद्दा दर्ता भएको थियो । त्यसपछि २०७२ सालमा कुलध्वजले चोरी मुद्दामा ११ महिना धुलिखेल कारागारमा सजाय भोग्नुभएको थियो । त्यस्तै, तरुण दल काभ्रेका अध्यक्ष तामाङ यसअघि पनि ज्यान माने उद्योगमा ललितपुर प्रहरी परिसरबाट मुद्दा दर्ता भएका व्यक्ति रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्