जनता टाइम्स

१६ पुष २०८१, मंगलवार १४:२९

शेखरबिरुद्ध खडा भए शशाङ्क : आम निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्नुपर्ने अडान


चितवन, पुस १६ । नेपाली कांग्रेसमा डा. शेखर कोइरालाबिरुद्ध शशाङ्क कोइराला नै खडा भएका छन । तोकिएको मितिमा महाधिवेशन गर्नेपर्ने भन्दै देश दौडाहमा रहनुभएका शेखरलाई शशांकले नै चुनावपछि गर्नुपर्ने भन्दै काउन्टर दिनुभएको हो । शशाङ्कले आम निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्नुपर्ने अडान राख्नुभएको छ ।

कांग्रेसका नेता डा. शशाङ्कले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा या आम निर्वाचनपछि गर्नु उपयुक्त हुने बताउनु भयो । पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले आम निर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘विसं २०८४ मा आम निर्वाचन हुनेछ । त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो । होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ ।’ निर्धारित समयमा अधिवेशन गराउँदा पार्टीभित्रको असन्तुष्टि हराएर जाने भन्दै उहाँले आम निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आम निर्वाचनमा पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘कोइराला परिवार एक होइन विचार एक हुनु पर्यो । विचार एक भए हुन्छ ।’ महाधिवेशनका लागि आफ्नो स्पष्ट खाका रहेको बताउँदै उहाँले पार्टीलाई एक ढिक्का बनाउने, पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्नुपर्ने, भ्रातृ संस्थाहरुलाई दुरुस्त राख्ने र कसैलाई काखापाखा नगर्ने नेतृत्व आवश्यक रहेको बताउनुभयो ।