जनता टाइम्स

१७ पुष २०८१, बुधबार ०९:४९

संसदमा एमालेले तोक्यो फोकल पर्सन, यस्तो छ कारण


काठमाडौं, पुस १७। सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले प्रतिनिधि सभाका विषयगत समितिमा रहेका विधेयकलाई अगाडि बढाउन पार्टीको तर्फबाट पहल गर्ने पहलकर्ता तोकेको छ ।

एमाले संसदीय दलको कार्यालयमा बसेको मुख्य सचेतक महेश बर्तौला, सचेतक सुनिता बरालसहितको बैठकले संसदीय विषयगत समितिमा विचाराधीन रहेका विधेयक अगाडि बढाउन फोकल पर्सन तोकेको हो ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिमा रहेका विधेयकबारे छलफल र समन्वय गर्ने जिम्मेवारी सांसद रघुजी पन्तलाई तोकिएको छ । राज्य व्यवस्था समितिमा चार वटा विधेयक छ । संघीय निजामती सेवा विधेयक, अख्तियार ऐन संशोधन विधेयक, भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक र निर्माणमुखि सामग्री विधेयक राज्य व्यवस्था समितिमा दफावार छलफलमा छ ।

यस्तै अर्थ समितिमा रहेका विधेयकहरूमाथि छलफल गर्न र अगाडि बढाउने पहल लिने जिम्मेवारी सांसद सूर्य थापालाई दिइएको छ । अर्थ समितिमा बैंक तथा वित्तीय संस्था विधेयक, सुरक्षित कारोबार ऐन संशोधन विधेयक, धितोपत्र ऐन संशोधन विधेयक, आर्थिक कार्यविधि ऐन संशोधन विधेयक र भन्सार विधेयक दफावार छलफलमा छ ।

यसैगरी कानुन न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐन संशोधन विधेयक दफावार छलफलमा छ । यो विधेयक अगाडि बढाउने भूमिका खेल्ने जिम्मेवारी सांसद नैनकला थापालाई दिइएको छ ।

यस्तै जिम्मेवारी सांसद छविलाल विश्वकर्माले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा समन्वयको जिम्मेवारी पाउनु भएको छ । सो समितिमा विद्यालय शिक्षा विधेयक र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक दफावार छलफलमा छ । विद्यालय तहको शिक्षामा कुन तहको अधिकार क्षेत्र कति र निजी क्षेत्रबाट सञ्चालित विद्यालयको विषयलाई लिएर विद्यालय शिक्षा विधेयकमाथि बहस भइराखेको छ ।

यसैगरी पूर्वाधार विकास समितिमा जलस्रोत समितिमा विधेयक अगाडि बढाउने जिम्मेवारी एमाले सांसद गोकर्ण विष्टलाई तोकिएको छ । संसदको आगामी अधिवेशनमा कानून निर्माणलाई प्राथमिकतामा राखेर एमालेले संसदीइ समितिमा फोकल पर्सन तोकेको हो ।