जनता टाइम्स

७ कार्तिक २०७६, बिहीबार ०९:५२

९ महिनाअघि नै बर्दियाको ओराही खोलामा पुल बन्यो, समयअघि नै पुल बनाएपछि निर्माण व्यवसायीलाई सम्मान


काठमाडौं, कात्तिक ७ । बर्दियाको पर्यटकिय क्षेत्र ठाकुरद्धारा र पुर्वपश्चिम राजमार्ग जोड्ने सडक खण्डमा रहेको ओराही खोलामा पुल नौ महिना अगाडी निर्माण सम्पन्न भएको छ ।

पुलले ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय जोड्ने छ । ठाकुरबाबा नगरपालिकाका वडा नं ६, ७, ८ र ९ का साथै मधुवन नगरपालिकाको वडा नं १ जोड्ने पुल आजदेखि सुचारु भएको हो ।

एक सय ७० मिटर लामो पुल ९ करोड ९६ लाख लागतमा २०७४ सालदेखि निर्माण सुरु भएको थियो । मितिभन्दा अगावै पुल निर्माण सम्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय बर्दिया र सडक डिभिजन कार्यालय बाँकेले मेनका निर्माण सेवाका प्रोप्राईटर तिलक राम लम्साललाई सम्मान गरेको छ । अन्य निर्माण व्यवस्यीलाई पनि प्रोत्साहन होस् भनेर निर्माण व्यववसायीलाई सम्मान गरीएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताउनुभयो ।

ठेक्का सम्पन्न भएर कार्यादेश पाउँदा समेत समयमा वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन नआउँदा निर्माण सम्पन्न गर्न अझै ढिलाई भएको निर्माण व्यवसायी लम्सालले बताउनुभयो ।

पुल निर्माणसँगै बर्दियाको पर्यटकिय क्षेत्र ठाकुरद्वारा आवातजावतमा सहज हुने भएको छ । बर्षातको समयमा ओराही खोला बढेर घण्टौँसम्म यातायात अवरुद्ध हुने गरेको थियो । कतिपय सवारी साधनहरु आवत जावतको क्रममा बग्ने समेत गरेका थिए । ओराही खोलामा पुल नभएको कारणले बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकमा समेत नराम्रो असर परेको थियो ।