जनता टाइम्स

१८ पुष २०८१, बिहीबार १४:०८

प्रचण्डलाई गृहमन्त्री लेखकले पर्काए कठोर जवाफ


काठमाडौं, पुस १८ । गृहमन्त्री रमेश लेखकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारलाई धन्यवाद दिनलाई तयार रहन सुझाव दिनुभएको छ ।

संसदको राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा नुवाकोटको शेरा दरबारबारे बोल्दै प्रचण्डले ‘कानूनविपरीत भए फिर्ता ल्याइयोस । म सरकारलाई धन्यवाद दिन्छु‘ भनेपछि गृहमन्त्रीले सो कामका लागि तयार रहन जवाफ फर्काउनु भएको हो ।

‘शेरा दरबारसम्बन्धी जग्गा हडपेको बिषयमा गम्भिरताका साथ अध्ययन भइरहेको छ । पूर्वप्रधानमन्त्रीले प्रचण्डले धन्यवाद दिन्छु भन्नुभएको छ, धन्यवाद दिन तयार भए हुन्छ । किनभने, गम्भिरताका साथ अध्ययन भइरहेको छ । कसैको नाममा गैरकानुनी काम भएको रहेछ भने सरकारले फिर्ता ल्याउँछ,’ बैठकमा प्रचण्डलाई जवाफ दिंदै गृहमन्त्री लेखकले भन्नुभयो ।

यसअघि बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरा दरबारको जग्गा विवादबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ माग्नुभएको थियो । ‘शेरा दरबारबारे भएको के हो ? गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ,’् सांसद घिमिरेले भन्नुभयो ।

गृहमन्त्री लेखकले अन्तिममा जवाफ दिने बताएपछि प्रचण्डले अख्तियार ऐन संशोधन विधेयक र एमाले सांसद घिमिरेले उठाएको विषयमा आफ्नो धारणा राख्दै सरकारलाई धन्यवाद दिने घोषणा गर्नुभयो । नुवाकोटको शेरा दरबार कब्जामा माओवादीकै संलग्नता रहेको समाचार बाहिरिएपछि संसदमा समेत सो बिषयले प्राथमिकता पाएको हो ।