जनता टाइम्स

१८ पुष २०८१, बिहीबार १७:३९

भीम रावलको आरोप नेकपाकालमा प्रचण्डले लगाएको १९ बुँदे अभियोगको ‘कपी पेस्ट’ : प्रदीप ज्ञवाली


काठमाडौं, पुस १८ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीबाट निष्कासित नेता भीम रावलले गरेको गालीगलौजले आफ्नै कुरुप अनुहार उदांगो बनेको टिप्पणी गर्नुभएको छ ।

एमाले सचिवालयको बैठकपछि पत्रकारसँग कुरा गर्दै उपमहासचिव रावलले यस्तो बताउनु भएको हो । एमालेका पूर्वउपाध्यक्ष रावलले बुधवार पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध आपत्तिजनक आक्षेप लगाएपछि एमाले उपमहासचिव ज्ञवालीले ‘रावलको कुरुप अनुहार’ उदांगो बनेको बताउनु भयो ।

‘उहाँभित्र कति नकारात्मक कुराले भरिएको भन्ने प्रष्ट भएको छ,’ ज्ञवालीले भन्नुभयो । उपमहासचिव ज्ञवालीले ओलीमाथि रावलका आरोप प्रचण्डले नेकपाकालमा लगाएको १९ बुँदे अभियोगको कपी पेस्ट मात्र भएको पनि बताउनु भयो ।

‘२०७७ कात्तिकमा प्रचण्डले १९ पेजको आरोप लगाएका थिए । एक किसिमले कपी पेष्ट हो रावलको आरोप । उहाँभित्र कति नकारात्मक कुराले भरिएको प्रष्ट भयो । गालीगलौजले देश बन्दैन । एक जमानामा प्रचण्ड र बाबुराम डिक्स्नेरीमा भएका शब्द खोजीखोजी गाली गर्नुहुन्थ्यो । रवि लामिछानेजीहरू त्यसैगरी उदाउनु भयो’, ज्ञवालीले भन्नुभयो ।

उहाँले अगाडि थप्नुभयो, ‘हामी गालीगलौजको प्रतिस्पर्धामा छैनौं । देश बनाउने अभियानमा छौं । एमालेले त्यस्तो कुरालाई महत्व दिएर बस्दैन महत्वपूर्ण पनि ठान्दैन ।’ रावलले सवै लिखत आरोपमै खर्चिएको ज्ञवालीले बताउनु भयो ।

‘३१ पृष्ठको दस्ताबेजमा ३० पृष्ठ एक प्यारा गालीगलौज अर्को पौने प्यारा अभियान चलाउँछु भन्ने कुनै छलफल गरिरहनुपर्ने विषय लागेन । अपेक्षित नै हो यो । पार्टी त्यही कारण उहाँको सदस्यता कायम नरहने निष्कर्षमा पुगेको हो,’ ज्ञवालीले भन्नुभयो ।