काठमाडौं, कात्तिक ७
असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गर्नुभएको छ । उहा बिहीबार बिहान साढे १२ बजेतिर कतार एयरवेजको जहाजबाट अजरबैजान प्रस्थान गर्नुभएको हो ।
शुक्रबारदेखि सुरु हुने बैठकमा प्रधानमन्त्री ओलीले शनिबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भेनेजुयलाका कम्युनिस्ट शासक मडुरोसँग पनि दुईपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री ओलीले मडुरोसहित बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भारतका उपराष्ट्रपति एम भेनकाई नायडुलगायतसँग पनि भेटघाट गर्ने बताइएको छ ।
भ्रमण सकेर प्रधानमन्त्री कार्तिक १० गते स्वदेश फर्कनु हुनेछ । भ्रमण टोलीमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागीलगायत सहभागी हुनुहुन्छ । हाल असंलग्न अभियानमा १२० विकासोन्मुख मुलुक सदस्य छन् । यसको पर्यवेक्षकका रूपमा १७ मुलुक र १० अन्तर्राष्ट्रिय संस्था छन् । असंलग्न अभियानले अहस्तक्षेप, अनाक्रमण, शान्तिपूर्ण सहअस्तित्व, एकअर्काको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताप्रति सम्मान जनाउने पञ्चशील सिद्धान्त अंगीकार गरेको छ ।
नेपाल अभियानको संस्थापक सदस्य हो । सन् १९५५ मा इन्डोनेसियाको वाङडुङमा भएको तेस्रो विश्वका मुलुकको सम्मेलनमा भएको सैद्धान्तिक सहमतिका आधारमा सन् १९६१ मा तत्कालीन युगोस्लाभियाको बेलग्रेडमा पहिलो शिखर सम्मेलन भएको थियो । वाङडुङमा नेपालका तर्फबाट तत्कालीन परराष्ट्र सचिव तथा उपरथी सोभारजंग थापाले नेतृत्व गरेका थिए । सन् १९६१ को सम्मेलनमा तत्कालीन राजा महेन्द्र नेतृत्वमा टोली सहभागी थियो ।
प्रतिक्रिया दिनुहोस्