काठमाडौं, पुस १९ । संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिलकुमार पोखरेललाई बर्खास्त गर्नुभएको छ । आर्थिक अनियमिततामा मुछिएपछि सभापति पोखरेलले स्व्कीइ सचिव पोखरेललाई आज पदमुक्त गर्नुभएको हो ।
एमबीबीएस परीक्षामा नाम निकालिदिने भन्दै अनिलले रकम लिएको बिषयमा अदालतले छानविन अघि बढाउन आदेश दिएको सूचना सार्वजनिक भएपछि पोखरेलले आज बर्खास्त गर्नुभएको हो । उच्च अदालत विराटनगरले सभापति पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेललाई ठगीमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई गत भदौमै परमादेश दिएको थियो । उक्त परमादेश पुस ११ मा प्रमाणीकरण भएको छ ।
पोखरेलले संघीय संसद सचिवालयलाई स्वकीय सचिवलाई पोखरेललाई हटाएको जानकारीसहितको पत्र पठाउनु भएको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभापति पोखरेलले स्वकीय सचिवलाई हटाउनका लागि भन्दै शुक्रबार पत्र पठाउनु भएको हो ।
पोखरेलले संसद सचिवालयमा लेखेको पत्रमा भनिएको छ, ‘निजमाथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागू हुनेगरी निष्कासन गरेको व्यहोरा अनुरोध गर्दछु ।’
‘माथिसम्म पहुँच रहेको’ र एमबीबीएसमा नाम निकालिदिने भन्दै लेखा समिति सभापति पोखरेलका स्वकीय सचिव अनिल पोखरेलले दीक्षा चौधरीको नाम एमबीबीएसको प्रवेश परीक्षामा निकालिदिने भन्दै बाबु बौआलाल चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए । छोरीको नाम एमबीबीएसमा ननिस्किएपछि पैसा फिर्ता माग्दा उल्टै धम्की दिएर ५० लाख ऋण लिएको लिखत बनाई चौधरीलाई हस्ताक्षर गराएको पीडितको भनाइ छ ।
पीडितले आफू ठगिएपछि इलाका प्रहरी कार्यालय रंगेली र जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएका थिए । ठगीमा आरोप लागेका अनिल एमालेको मोरङ जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्