काठमाडौं, पुस २१ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज हल्का बर्षा र हिमपातको संभावना औल्याएको छ । महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र मधेस प्रदेशको पूर्वी भू-भागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ ।
आज दिउँसो देशको पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि साधरणतया मौसम बदलीदेखि सामान्यतया वर्षा रहने छ । आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ ।
महाशाखाका अनुसार तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिमका पहाडी र उच्च हिमाली क्षेत्र र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव सोमबार र मङ्गलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्