काठमाडौं, पुस २१ । सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघिबाट बैठक सुरू भएको हो ।
बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसायिम राजनीतिक परिवेशबारे ब्रिफिङ गर्नुहुनेछ । यसैगरी राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशिन बिभाग प्रमुख राजेन्द्र गौतमले दिनुभएको जानकारी अनुसार प्रतिवेदनसहित समसामयिक प्रस्तावमाथि प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्न तीन मिनेटको समय उपलब्ध गराइने भएको छ । राजनीतिक प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको विवेचना, नयाँ सरकार गठनपछिको पहिलो बैठक भएकाले कांग्रेससँगको सहकार्यको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसरको विश्लेषणलगायतका विषय समेटिने बताइएको छ ।
त्यस्तै आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएको छ ।
बैठकमा ३५७ केन्द्रीय सदस्य, सात प्रदेशका अध्यक्ष र चार केन्द्रीय आयोगका प्रमुखहरु सहभागी छन् । दुई दिनभित्र बैठक सक्ने एमाले केन्द्रीय कार्यालयको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्