काठमाडौं, पुस २२। नेकपा एमालेले भीम रावलमाथिको कार्वाहीसहित केन्द्रीय सचिवालय र पार्टीको पोलिटब्युरो बैठकका निर्णय अनुमोदन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतवारदेखि सुरु एमाले केन्द्रीय कमिटी बैठकले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद बैठक यता गरिएका पोलिटब्युरो र सचिवालय बैठकका निर्णय सर्वसम्मतिले अनुमोदन गरेको हो ।
एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले बोल्ने क्रम जारी छ । बैठकमा सबै केन्द्रीय सदस्यहरूलाई बोल्न समय उपलब्ध गराइएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्नुभएको थियो ।
ती प्रतिवेदनमाथि आज केन्द्रीय सदस्यहरु अफिलाल ओखेडा, यज्ञ बोगटी, झपट बोहोरा, सहदेव बोगटी, प्रकाश शाह, नरबहादुर धामी, झपट रावल, कमला वली, कृष्णप्रसाद जैसी, सन्तोष शर्मा, कमला बोहोरा, गुलाबजंग शाह, धर्मराज रेग्मी, विनोद शाह र ठम्मरबहादुर विष्टले राजबहादुर बुढा, नगेन्द्र शाही, डम्बर सिंह, दल रावल, नवराज रावत र घनश्याम पाण्डे, शिवराज सुवेदी, नवीन रोक्का, सजिदा खातुन सिद्धिकी, लक्ष्मण ज्ञवाली, गणेश खनाल र खड्कबहादुर खड्काले आफ्ना धारणा राख्नुभएको छ ।
बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूलाई संगठनात्मक काममा सक्रियतासाथ लाग्न निर्देशन दिनुभयो । पार्टीका सबै नेता(कार्यकर्ता निजी स्वार्थमा केन्द्रित नभइ देश र जनताको हितमा केन्द्रित भएर चल्नुपर्ने उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले पार्टीविरुद्ध चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको सन्दर्भमा त्यसलाई परास्त गर्दै निर्णायक राष्ट्रिय शक्ति निर्माणको कार्ययोजना पूरा गर्ने अठोट साथ केन्द्रीय कमिटीको आठौं बैठक आयोजना गरिएको बताउनुभयो । सांगठनिक अवस्थाको संक्षिप्त जानकारी गराउँदै उहाँले केन्द्रीय कमिटीको सातौं बैठक यता संगठन निर्माण र परिचालनका सन्दर्भमा महत्वपूर्ण काम भएको, नेकपा स्थापनाको हीरक महोत्सव आयोजना गरिएको, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक सम्पन्न भएको लगायत विषय प्रस्तुत गर्नुभयो ।
आजको बैठकले केन्द्रीय कमिटी बैठकको सहजताका लागि समसामयिक प्रस्ताव तयार गर्न प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरू रघुजी पन्त र खगराज अधिकारी रहनुभएको प्रस्ताव मस्यौदा कमिटी र पोलिटब्युरो सदस्य सूर्य थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू निरज आचार्य र बिष्णु रिजाल रहनुभएको बहस नोट कमिटी गठन गरेको छ ।
बैठक आज पनि जारी रहेको छ । आज पनि केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्