काठमाडौं, पुस २२ । संसदीय समितिको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसकै सांसदहरुबीच चर्काचर्की परेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबिच चर्काचर्की परेको हो ।
सोमबारको समिति बैठकमा थानीले धेरै विधेयकहरू सुतेको भनेपछि थानी र सभापति खतिवडाबीच सवाल–जवाफ हुँदै चर्काचर्कीसम्म पुग्यो । ‘संवैधानिक परिषद विधेयक संसदमा सुतेको छ, अख्तियार विधेयक समितिमा आइसियुमा रहेको छ’, विधेयकहरू अघि नबढेकोमा चिन्ता प्रकट गर्दै थानीले भन्नुभयो ।
उहाँले यसो भनेपछि सभापति खतिवडाले रोक्दै ‘तपाईंको समितिले दिएको सुझाव धेरै भएको छैन’ भन्दै जवाफ फर्कानु भयो । खतिवडाको यो भनाईलेसांसद थानी आक्रोशित बन्नुभयो । ‘समितिमा तपाईं नै बोल्नुस । ओभरटेक गर्ने ? म बोल्दिनँ’ थानीले आक्रोश पोख्नुभयो ।
उहाँले आफू पनि समिति सभापतिको कुर्सीमा बसेर आएकाले कम नआँक्न भन्दै चेतावनीसमेत दिनुभयो । ‘म पनि त्यो चियरमा बसेर आएको हो,’ सभापति खतिवडातिर औला तेस्र्याउँदै थानीले भन्नुभयो ।
उहाँको यो ब्यवहारपछि सभापति खतिवडाले थानीलाई बोल्न समय दिनुभयो । तर उहाँ बोल्नै मान्नुभएन । सत्तारुढ दल कांग्रेसकै नेता रहनुभएका सभापति खतिवडा र थानीबीचको बिवादले एमाले सांसदहरु सहजीकरण गरेका थिए । एमाले सांसद कृष्णगोपाल श्रेष्ठले दुवैलाई सम्झाउने प्रयास गर्नुभएको थियो ।
‘यस्ता विषयमा अन्यथा गर्नु हुँदैन । सभापतिले पनि कुराको शृङ्खला टुट्ने गरी कुरा काट्दा उत्तेजना हुन्छ । नामै राम्रो, हृदयमा राम भएको’, बिवादको सहजीकरण गर्दै सांसद श्रेष्ठले भन्नुभयो । उहाँको भनाईपछि दुवै जना शान्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस्