काठमाडौं, पुस २२। सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट भाडादर वृद्धि भएको हो ।
सरकारले आजबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडादर समायोजन गरेको हो । अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरिएको हो ।
यात्रुवाहक सवारीमा ३.३० प्रतिशत भाडा वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी .०५ प्रतिशतले भाडादर वृद्धि भएको हो ।
विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण हुने गरको छ । सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा यातायात व्यवस्था विभागले गरेको बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षहरूसँग गरिएको परामर्शको आधारमा भाडा वृद्धि भएको हो ।
यातायातका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, व्याज, सञ्चालन खर्च, हाककट्टी र सञ्चालन मुनाफा लगायतका मूख्य सूचकहरुमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका सवारीको भाडा समायोजन भएको विभागले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्