काठमाडौं, पुस २२ । गृह मन्त्रालयले काठमाडौं र झापासहित ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । मन्त्रालयले सोमवार १२ सहसचिव तथा उपसचिवको सरुवा गर्ने क्रममा ७ जिल्लाको प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।
सरुवा सूचीअनुसार गृह मन्त्रालयका सहसचिव एवम प्रवक्ता ऋषिराम तिवारीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने काठमाडौंका जयनारायण आचार्यलाई मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, झापाका बन्धु बाँस्तोला र सुनसरीका रामचन्द्र तिवारीको पनि गृह मन्त्रालयमा सरुवा भएको छ भने मन्त्रालयमा कार्यरत गोगनबहादुर हमाललाई कैलालीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर त्यहाँका धर्मेन्द्रकुमार मिश्रलाई सुनसरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकिएको छ ।
सरुवामा गृह मन्त्रालयमा कार्यरत तुलसीबहादुर श्रेष्ठलाई सर्लाही, मन्त्रालयमै कार्यरत इन्द्रदेव यादवलाई मोरङ, सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको झापा र दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई सल्यानको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्