जनता टाइम्स

२३ पुष २०८१, मंगलवार २२:०४

केन्द्रीय कमिटीमा अध्यक्ष ओली : कुनैपनि नेताको कारबाही फिर्ता हुँदैन, बरू थप कारबाही हुनसक्छ


काठमाडौं, पुस २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वउपाध्यक्ष भीम रावलसहित कुनैपनि नेताको कारबाही फिर्ता नहुने बरु थप कारबाही हुनेसक्ने प्रष्ट पार्नुभएको छ । केन्द्रीय कमिटी बैठकको समापनको क्रममा केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले यस्तो बटमलाइन सुनाउनु भएको हो ।

अध्यक्ष ओलीकै बटमलाइन अनुसार बैठकले पार्टीको नीतिविपरीत जाने नेता–कार्यकर्तालाई नछाड्ने चेतावनी पनि दिएको छ । पार्टी कार्यालय च्यासलमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकको समापनको क्रममा अध्यक्ष ओलीले पार्टीको हित विपरीत जाने जोकोहीलाई कारबाहीको कडा नीति अवलम्बन गर्ने चेतावनी दिनुभयो ।

अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि धारणा राख्ने क्रममा आधा दर्जन नेताहरूले पूर्वउपाध्यक्ष भीम रावलसहित स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनाको कारबाहीको विषय उठान गरेका थिए । सो बिषयमा क्रममा अध्यक्ष ओलीले पार्टीको हित विपरीत लाग्ने जोकोहीविरुद्ध अव कडा नीति अवलम्बन गर्ने अध्यक्ष ओलीले बताउनु भयो ।

केही नेताहरूविरुद्ध परेका कारबाही फिर्ता पनि नहुने उहाँको भनाई थियो । ’पार्टीको नीति विपरीत लाग्ने, पार्टीको बदनाम गर्दै हिंड्ने, पार्टीलाई तथानाम गाली गर्दै हिंड्नेहरूको कारबाही फिर्ता हुँदैन । पार्टी हितविपरीतका गतिविधि कायमै रहे थप कारबाही हुन्छ,’ अध्यक्ष ओलीको भनाइ थियो ।

गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष रावललाई संगठित सदस्यसमेत नरहनेगरी निष्कासन गरेको थियो भनेस्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट निलम्बन गरेको थियो ।

एमाले बैठकले निर्णायक राष्ट्रिय शक्ति निर्माणको अभियानलाई सफल बनाउन पार्टी बाहिर रहेका सबै नेता–कार्यकर्तालाई आफ्नो घर फर्कन आह्वान पनि गरेको छ ।