जनता टाइम्स

२४ पुष २०८१, बुधबार २१:२४

एमाले र सरकारविरुद्ध भइरहेको घेराबन्दी तोडने अभियानको नेतृत्व गर्न प्रेस चौतारीलाई प्रचार कमाण्डर राजेन्द्र गौतमको निर्देशन


काठमाडौं, पुस २४ । नेकपा एमाले स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाव प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले अहिले नेकपा एमाले र एमाले नेतृत्वको सरकार विरुद्ध सामाजिक सञ्जाल मार्फत घेराबन्दी गर्ने काम भइरहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालको बुधबार साँझ आयोजित जुम बैठकलाई सम्बोधन गर्दै उहाँले यसबाट समाजमा विभाजन र नैराश्यता बढाउने काम भएको बताउनुभयो । ‘आज हाम्रो पार्टी मात्र होइन सिङ्गो देश यो चुनौतीसँग जुधिरहेको छ’, उहाँले भन्नुभयो ।

सूचनाको अधिकारको रक्षा गर्दै मिथ्या प्रचारलाई रोक्न सरकारका नियामक निकायले प्रभाकारी भूमिका खेल्नु पर्ने निर्णय नेकपा एमाले केन्द्रीय कमिटी बैठकले गरेको उहाँले जानकारी गर्नुभयो । दुराशययुक्त सूचनालाई रोक्न सबैले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘मिथ्या, दुराशय युक्त, झुटा सूचना मार्फत समाजमा जुन खालको नैराश्यता सिर्जना भएका छन् यी विषय गम्भीर छलफलका विषय हुनुपर्छ’, गौतमले भन्नुभयो ।

अहिले भइरहेको चौतर्फी हमलाको विरुद्ध प्रेस चौतारी नेपाल एकताबद्ध हुने गरी सहमतिबाट नेतृत्व चयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘सहमतिको लागि अन्तिम प्रयास गरेर निष्कर्षमा पुर्‍याउनु पर्दछ, नेतृत्वमा आएपछि काम गर्नुपर्छ भन्ने कुराको तयारीका साथ जानुपर्छ’, उहाँले भन्नुभयो ।

प्रेस चौतारी नेपालको नयाँ नेतृत्व पत्रकारिताको राम्रो ज्ञान भएको वैचारिक नेतृत्व आउनु पर्नेमा उहाँले जोड दिनुभयो । जस्तोसुकै आँधी हुरीमा पनि नहल्लिने सतिसाल जस्तो नेतृत्व चयन हुनुपर्ने गौतमले बताउनुभयो । प्रेस चौतारी नेपालले अन्य सबै जनसंगठनलाई सन्देश दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।