काठमाडौं, पुस २६। टीकापुर जग्गा अनियमितता प्रकरणमा विशेष अदालत काठमाडौंले ८७ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले टीकापुर जग्गा प्रकरणबारे फैसला गरेको हो ।
दोषी ठहर टीकापुर नगर विकास समितिका अध्यक्ष नेत्रप्रसाद जोशी, उपसमिति संयोजक गणेशसिंह रावललाई एक वर्ष छ महिना कैद फैसला गरेको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार जग्गा किन्ने एक सय १७ जनामध्ये ८७ जनालाई दोषी ठहर गर्दै तीन महिना कैद र जरिवाना हुने फैसला गरेको छ ।
उक्त जग्गा सबै नगर विकास समितिको नाममा हुने ठहर बिशेष अदालतले गरेको छ । अदालतले दोषी ठहर गरेका सबैलाई डेढ महिना कैद र १३ लाख सात हजार जरिवाना हुने फैसला गरेको हो । यस्तै, केशरबहादुर कुँवर र राजु आचार्यले सफाइ पाउनु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघमा कैलालीको टीकापुर नगर विकास समितिको जग्गा अनियमित ढङ्गले व्यक्तिलाई बाँडेको आरोपमा मुद्दा दायर गरेको थियो । अदालतले टीकापुरको सरकारी जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता गराएकाहरूको जग्गा जफत हुने र नगर विकास समितिको हुने ठहर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्