जनता टाइम्स

२६ पुष २०८१, शुक्रबार १३:२९

सरकारले भन्यो : संविधान संशोधन गर्ने नै हो, यही गठबन्धनको पालामा हुन्छ


काठमाडौं, पुस २६। सरकारले अहिलेकै गठबन्धनको समयमा संविधान संशोधन हुने प्रष्ट जनाउ दिएको छ । सरकार प्रवक्तासमेत रहनुभएका सूचना, तथा सञ्चारमन्त्री प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री समेत रहनुभएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय समिति बैठकमा ०८७ सालमा मात्रै संविधान संशोधन हुने भनेर दअभिब्यक्ति दिनुभएको भन्दै अफवाह फैलाउने काम भएपछि एमाले उपमहासचिवसमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले संबिधान संशोधन हुने बताउनु भयो ।

‘संविधान संशोधन हुन्छ, अहिलेकै गठबन्धन सरकारले गर्छ, गर्ने हो । किनभने हाम्रो ७ बुँदे राजनीतिक सहमतिमा पनि यही कुरा छ,’ सञ्चार मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले भन्नुभयो ।

उहाँले प्रतिनिधि सभामा दुई ठूला दलको बहुमत पुगे पनि राष्ट्रिय सभाबाट अड्किने सम्भावनालाई हेर्दै प्रधानमन्त्रीले केही समय पर्खनुपर्ने बिषयमा जानकारी गराएको पनि उहाँको भनाई छ ।

‘अहिलेको सिनारियो भनेको प्रतिनिधिसभामा दुई वटा दलको मात्रै बहुमत पुग्छ । तर राष्ट्रिय सभामा समस्या भइरहेको छ । त्यहाँबाट पनि पास हुनुपर्ने हुन्छ । राष्ट्रियसभाबाट रोकिने स्थिति बन्यो भने त्यो प्रक्रिया टुंगिदैन भन्ने भन्नुभएको हो,’ सञ्चारमन्त्री गुरुङले भन्नुभयो । प्रधानमन्त्रीको भनाइको आशय संविधान संशोधन नै नगर्ने भन्ने नभएको प्रवक्ता गुरुङले स्पष्ट पार्नुभयो ।

‘उहाँले भन्नुभएको कुरा चाहीँ के हो जस्तो लाग्छ भने, हरेक १०–१० वर्षमा संविधानको सबल र दुर्बल पक्ष के के रहे भनेर हेर्ने भन्ने हो । त्यो चिजलाई हामीले तयारी गर्नुपर्योयो । त्यो सबैको आधारमा समीक्षा गर्ने र संशोधन गर्ने भनिएको हो,’ मन्त्री गुरुङले भन्नुभयो, ‘पहिलो त दुई दलको बीचमा सहमति हुन्छ । त्यसपछि हामीले सम्बोधन गर्ने र अनय दलहरूसँग छलफल हुन्छ । विपक्षी दलसँग छलफल हुन्छ । प्रक्रिया यो हो । उक्त प्रक्रियामा जाँदा अहिलेको सिनारियोबारे उहाँले भन्नुभएको हो ।’