जनता टाइम्स

२६ पुष २०८१, शुक्रबार १९:५८

पाँच महिनामा उच्च मूल्यवृद्धि, मंसिरसम्म ६.०५ प्रतिशत रहेको राष्ट्र बैंकको रिपोर्ट


काठमाडौं, पुस २६ । चालु आर्थिक वर्षको मंसिर महिनासम्म समग्र मूल्यबृद्धि (मुद्रास्फीति दर ह्वात्तै बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीतिको तथ्यांकले यस्तो अवस्था देखाएको हो । राष्ट बैंकका अनुसार चालू आवको ५ महिनामा मुद्रास्फीति ६.०५ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्ष मंसिर मसान्तमा यो दर ४.९५ प्रतिशत रहेको थियो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.९९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५.०० प्रतिशत र ४.९२ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधीमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४३.०५ प्रतिशत, दाल तथा गेडागुडीको १०.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.७० प्रतिशत र घ्यू तथा तेलको ९.३९ प्रतिशतले बढेको छ । मसला उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.१८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको भने ०.८३ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.९८ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.०१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको देखिएको छ ।

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.५२ प्रतिशतले बढेको छ भने शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.८९ प्रतिशतले बढेको राष्ट बैंकको तथ्यांकले देखाएको छ । प्रदेशगत रुपमा यो अवधिमा कोशी प्रदेशको मुद्रास्फीति सबैभन्दा उच्च देखिएको छ । समीक्षा महिनामा उक्त प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३६ प्रतिशत रहेको छ ।

त्यस्तै, मधेश प्रदेशको ६.७७ प्रतिशत, बागमती प्रदेशको ५.८४ प्रतिशत, गण्डकी प्रदेशको ४.८१ प्रतिशत, लुम्बिनी प्रदेशको ५.५३ प्रतिशत, कर्णाली प्रदेशको ४.१९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.६६ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । समीक्षा अवधिमा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८२ प्रतिशत, तराईको ६.३१ प्रतिशत, पहाडको ५.६५ प्रतिशत र हिमालको ६.५८ प्रतिशत रहेको छ ।