जनता टाइम्स

१ माघ २०८१, मंगलवार १६:४९

प्रहरीले सार्वजनिक गर्यो एमाले केन्द्रीय सदस्य मल्ल पक्राउ गर्नुको कारण


काठमाडौं, माघ १ । बैंकसँग अनधिकृत रूपमा रकम भुक्तानी माग गरेको आरोपमा सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।

एमाले भातृ संगठन अनेरास्वबियुका इञ्चार्जसमेत रहनुभएका मल्ललाई रकम नभएको बैंकको खातामा चेक काटको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मल्लले मौज्दात रकम नभएको खाताको चेक काटनु भएको थियो ।

मल्ललाई सोमबार जिल्ला प्रहरी परिसर भक्तपुरले पक्राउ गरी काठमाडौं पठाएको थियो । काठमाडौं प्रहरीले आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाएको छ ।
मल्लविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन– २०६४ को दफा ३ (ग) अनुसार मुद्दा अगाडि बढ्ने प्रहरीले जनाएको छ । उक्त दफामा ‘कसैले पनि बैंक वा वित्तीय संस्थामा खाता खोल्दा वा रकम भुक्तानी माग गर्दा आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काट्न नपाइने उल्लेख छ ।

मल्लले महाराजगञ्जमा शाखा कार्यालय रहेको बैंकको चेक जारी गरेका कारण प्रहरीले त्यहीँबाट थप कारबाही अगाडि बढाएको हो । प्रहरीका अनुसार मल्ललाई पीडितसँग छलफल गर्ने र फिर्ता गर्नुपर्ने रकम फिर्ताका निम्ति मौका दिइने छ । रकम फिर्ता गरेमा अदालतको अनुमतिमा दुई पक्षबीच मिलापत्र हुने सुविधा दिने गरिन्छ ।