बिराटनगर, माघ १ । नेकपा एमालेले कोशी पूर्वसांसद बिमल कार्कीलाई कार्वाही गरेको छ । नेतृत्व र पार्टी निर्णयबिरुद्ध लगातार सामाजिक सञ्जालमा अफवाह फैलाउने काम गरेको अभियोगमा एमाले कोशीले उदयपुर निवासी एमाले नेता कार्कीलाई कार्वाही गरेको हो ।
कोशी प्रदेश सभाका पूर्वसांसद एवं उदयपुरका नेता कार्कीलाई एमालेले ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको हो । पुस २७ गते बसेको कोशी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि निलम्बन गरेको एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिनुभयो ।
‘६ महिनाका लागि उहाँलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय भएको छ’, खतिवडाले भन्नुभयो । कार्कीलाई गत मंसिर १६ गते अध्यक्ष खतिवडाले तीन दिने स्पष्टीकरण सोध्नुभएको थियो । ‘तपाईंको नामको फेसबुक आइडीबाट पार्टी नेतृत्वविरूद्ध लगातार अभिव्यक्ति आइरहेको छ । त्यो फेसबुक आइडी तपाईंको हो कि होइन, हो भने तपाईंलाई किन कारबाही नगर्ने ?’ कार्कीलाई सोधिएको स्पष्टीकरणमा भनिएको थियो ।
कार्कीले तोर्किको समय सीमाभित्र स्पष्टीकरण नबुझाएको र स्पष्टीकरण पनि चित्त बुझ्दो नभएको भन्दै प्रदेश कमिटीले ६ महिना निलम्बनको निर्णय गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, एमाले कोशी इञ्चार्ज तथा पूर्वमुख्यमन्त्री शेरधन राईसँगै अनेरास्ववियुमा काम गर्नुभएका कार्की २०७४ को प्रदेशसभा निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर १ को ‘क’ बाट निर्वाचित हुनुभएको थियो ।
कार्की उदयपुर एमालेका पूर्वउपाध्यक्ष समेत हुनुहुन्छ । कार्कीले पछिल्लो समय एमालेबिरुद्धको अफवाह फैलाउने बिरोधी समुहलाई सघाउँदै एमालेमै रहेर एमाले सकाउने अस्त्र अर्थात ‘आलोचनात्मक चेत’ भन्दै नेतृत्व र पार्टी निर्णयबिरुद्ध नै जथाभावी लेख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्