जनता टाइम्स

३ माघ २०८१, बिहीबार १३:०८

न्यायलयमै मुक्का रबिका नेता-कार्यकर्ताले असली रूप देखाए : गोकुल बास्कोटा


काठमाडौं, माघ ३ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले अदालत परिसमा नै मुक्का बजारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता-कार्यकर्ताले आफ्नो असली रूप देखाएका बताउनुभएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतमा सो पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दामा उहाँ विरुद्धमा बहस गरेको भन्दै अदालत परिसमा नै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आक्रमण गरेको घटनाको बास्कोटाले निन्दा गर्नुभएको छ ।

‘न्याय मरेको छैन भन्थे अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होइन माइक टाइसन भन्दा तीनगुणा बलशाली रहेको प्रमाणित भयो’, सामाजिक सञ्जाल फेसबुकमा बास्कोटाले लेख्नु भएको छ ।

लामिछानेका अझै तीनवाटा जिल्लामा सहकारी ठगीका मुद्दा बाँकी नै रहेकाले त्यहाँसम्म चाहर्दा कति वकिलका कालो कोट च्यातिने हुन् भन्दै उहाँले प्रश्न गर्नुभएको छ ।

‘अझै तीन परिसर चाहर्न बाँकी छ जस्तो छ, कति काला कोट धुजा धुजा हुने हुन, टेलर्स, मिडिया, मेडिकल,मस्म, मकै सबै चल्ने भए, बाघ र निलोरंगे स्यालको फरक कहिले छुट्टेला ?’ बास्कोटाले लेख्नु भएको छ ।

सहकारी ठगी मुद्दामा लामिछानेलाई कास्की जिल्ला अदालतले गत बिहीबार ६५ लाख रुपैँया धरौटीमा छाडेको थियो भने बुधबार मात्र काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैँया धरौटीमा छाडेको छ ।
लामिछाने विरुद्ध चितवन जिल्ला अदालत, रुपन्देही जिल्ला अदालत र पर्सा जिल्ला अदालतमा पनि त्यहाँका सहकारी ठगी गरेको मुद्दा छ ।

लामिछाने लगायतले विभिन्न सहकारी ठगी गरेर गोर्खा मिडियामा रकम ल्याई अपचलन गरेका मुद्दा छन् । ती मुद्दा छानबिनको क्रममा लामिछाने ८४ दिन कास्की प्रहरी हिरासतमा बसेका थिए ।