काठमाडौं, माघ ३ । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको प्रष्ट पार्नुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकले यस्तो बताउनु भएको हो ।
‘हामी दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । हाम्रा बीचमा कुनै समस्या छैन,’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘सरकारमा कुनै बाधा, व्यवधान र अप्ठेराहरू छैनन । आ–आफ्नो मन्त्रालयमा थप कसरी राम्रो काम गर्ने भन्ने कुरामा नेतृत्वसँग छलफल भएको छ ।’
गृहमन्त्री लेखकले सबै मन्त्रीहरूले पार्टीमा आ–आफ्नो मन्त्रालयका बारेमा ब्रिफिङ गरेको जानकारी पनि दिनुभयो । ‘सबै मन्त्रीले आ–आफ्नो मन्त्रालयमा के–के काम भइरहेको छ भन्नेबारे सभापतिलाई ब्रिफिङ गरिरहनुभएको छ,’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘मन्त्रीजीहरूसमेत उपस्थित भएर छलफल भएको छ । अत्यन्त राम्रो र सौहार्दपूर्ण ढंगले छलफल भएको छ ।’
सबै मन्त्रीहरूबाट एमालेसँग भएको ७ बुँदे समझदारीअनुसार अघि बढ्न केन्द्रीत हुनुपर्ने भनाइ आएको उहाँले जानकारी दिनुभयो । ‘सबै माननीय मन्त्रीज्यूहरूबाट आएको कुरा भनेको ७ बुँदे समझदारीअनुसार यो समीकरणलाई अघि लिएर जाने कुरामै हामी केन्द्रीत हुने हो भन्ने नै छ । दोस्रो सेवा प्रवाहको क्षेत्रमा नागरिकलाई बढीभन्दा बढी सेवा राम्रोसँग प्रवाह गर्ने, आर्थिक सुशासन कायम गर्न केन्द्रीत भएर काम गर्ने कुरा भएको छ,’ गृहमन्त्री लेखकले भन्नुभयो ।
ब्रिफिङको क्रममा सभापति देउवाले दुई दलबीचको सहमतिअनुसार अघि बढ्न निर्देशनसमेत दिनुभएको गृहमन्त्री लेखकले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्