काठमाडौं, माघ ३ । सत्तारुढ दल नेपाली कांग्रेसले हप्तामा दुई दिन खुला भेटघाट गर्न सरकार सहभागी मन्त्रीहरूलाई निर्देशन दिएको छ । सभापति शेरबहादुर देउवा निवासमा संसदीय दलको कार्यसमितिसँग मन्त्रीहरूको छलफलपछि सो उक्त निर्देशन दिएएको हो ।
‘हप्तामा दुई दिन खुला भेटघाट गर्न मन्त्रीहरूलाई निर्देशन दिइएको छ,’ बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले भन्नुभयो । प्रमुख सचेतक घिमिरेका अनुसार ‘पार्टी अफिस गएर हप्तामा दुई दिन आलोपालो गरेर कार्यकर्तासँग भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी पाँच दिन पूर्ण रुपमा मन्त्रालयको काममा केन्द्रीत हुन मन्त्रीहरुलाई निर्देशन दिइएको छ ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसका १० मन्त्री र दुई राज्यमन्त्री सरकारमा सहभागी छन । सवै मन्त्रीलाई बोलाएर ब्रिफिङ लिएपछि कांग्रेस सभापति देउवाले सो निर्देशन दिनुभएको थियो । सो क्रममा सरकारलाई सफल बनाउन सक्रिय हुने र नियमित छलफल गर्ने निर्णय समेत गरिएको छ ।
यस्तै विचाराधिन विधेयकमा सक्रियतापूर्वक काम गर्ने निर्णय गरेको प्रमुख सचेतक घिमिरेले जानकारी दिनुभएको छ । ‘आ–आफ्ना मन्त्रालयमा गति बढाउने कुरा भएको छ । बजेटका अभावले कतिपय योजना त्यत्तिकै थन्किएका छन । चाँडो अगाडि बढाउने भन्ने कुरा भएको छ,’ घिमिरेले भन्नुभयो ।
बैठकमा सभापति देउवाले मन्त्रालयको काममा फोकस हुन, प्रभावकारी कार्यसम्पादन गर्न समेत निर्देशन दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्