काठमाडौं, माघ ४ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीले अव प्रेस चौतारी नेपाल बाहेकका कुनै पनि बामपन्थी पत्रकारहरुको संगठन आवश्यक नरहेको बताउनु भएको छ ।
संस्थापक बरिष्ठ उपाध्यक्ष र निर्वाचन जितेर अध्यक्ष बन्नुभएका सुवेदीले समाजवादी प्रेस संगठन त्यागेर शुक्रवार आफ्नो पुरानो घर प्रेस चौतारी फर्केपछि यस्तो निश्कर्ष सुनाउनु भएको हो । शुक्रवार आयोजित कार्यक्रममा अध्यक्ष सुवेदी, संस्थापक उपाध्यक्ष नरेन्द्र साउद, महासचिव रामकुमार एलन, नेपाल पत्रकार महांघका पूर्वसदस्य माधव पौडेलसहित पत्रकारका रुपमा चिनिएका सवै नेताहरु प्रेस चौतारीमै फर्कनुभएको छ ।
माधव नेपालहरू एमालेबाट विभाजित हुँदा प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको प्रेस संगठनका अध्यक्ष सुवेदीले अब माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी पार्टी नै समाप्तीको बिन्दुमा रहेको बताउनु भयो । उहाँले समाजवादी प्रेस संगठनमा रहेका सवै जना केही समयभित्रै प्रेस चौतारीमा समाहित हुने उदघोष पनि गर्नुभएको छ । सुवेदी विभाजित भएर जानु अघि प्रेस चौतारी नेपालको उपाध्यक्ष हुनुहुन्थ्यो ।
बागबजारको होटेल हार्दिकमा आयोजित कार्यक्रममा सुवेदीसँगै महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू रमेश सुवेदी, आशिष गुरागाईँ, सौगात मिश्र, नरेन्द्र विष्टसहित चार दर्जन नेताहरु प्रेस चौतारीमा फर्कनु भएको छ । अध्यक्ष, महासचिवसहितका पदाधिकारी र सदस्यहरू प्रेस चौतारीमा फर्किएपछि समाजवादी प्रेस संगठन समाप्तिको बाटोतर्फ अघि बढेको छ ।
कार्यक्रममा बोल्दै सुवेदीले आफूले प्रेस चौतारी छाडेर हिँडेकोमा पश्चात्ताप गर्नुभयो । प्रेस चौतारीमा बस्दा लेख्न पाइँदैन, बोल्न पाइँदैन भनी आफूहरूलाई भन्ने गरिएको भए पनि एकीकृत समाजवादीमा लेखेकै कारण आफूलाई स्पष्टीकरण सोधिएको उहाँले बताउनुभयो । ‘प्रेस स्वतन्त्रताको पक्षमा हामी लडेर हिँड्ने, तर आफैँ आबद्ध पार्टीले त्यसमा बन्देज लगाउने, त्यो पनि विधि र पद्धतिको कुरा गर्नेले, त्यसैले त्यो निकृष्ट ठाउँलाई छाडेर म आफ्नै ठाउँमा फर्किएको छु’, उहाँले भन्नुभयो ।
एकीकृत समाजवादीमा पत्रकार मात्र होइन पार्टीका अन्य नेताहरूले पनि बोल्न नपाउने उहाँले बताउनुभयो । आफू कुटिएको र लुटिएको कुरा पार्टीमा राख्न खोज्दा समेत माधव नेपालले कुरा राख्नसमेत नदिएको उहाँले बताउनुभयो । सुवेदीले नेकपा एसमा बोल्न, लेख्नदेखि कानूनमा तोकिएको कुनै पनि कुरा गर्न नदिने गरिएको र आर्थिक अनुशासनहीन कामले सीमा नाघेको तथ्य पनि खोल्नुभयो । त्यहाँ निरङ्कुशता र आर्थिक अनियमितताले सीमा नाघेको सुवेदीले सुनाउनुभयो । अघिल्लो दिन मन्त्री बनाएर पठाएको मानिसलाई भोलिपल्टबाट ४ करोड र ५ करोड माग्ने गरिएको खुलासा पनि सुवेदीले जानकारी दिनुभयो ।
यस्तो विकृति देख्दा आफूलाई पहिलेदेखि नै सो पार्टी र संगठन छाड्न मन लागेको भए पनि संगठनको अधिवेशनमा आफू अध्यक्ष निर्वाचित भएपछि निर्वाचित भएका साथीहरू समेत लिएर चौतारीमा आउन केही ढिलाइ गरेको उहाँले बताउनुभयो । समाजवादी प्रेस संगठनका ९० प्रतिशत पत्रकारहरू प्रेस चौतारी नेपालको महाधिवेशन अगाडि नै आउने ठोकुवा पनि उहाँले गर्नुभएको छ । अव त्यहाँ कोही पनि बस्दैनन । सवै प्रेस चौतारी नेपालमै फिर्ता हुन्छन । सवै साथीहरु चौतारीमै फर्कनुपर्छ भन्ने निश्कर्षमा पुगिसकेको अध्यक्ष सुवेदीले बताउनु भयो ।
‘दासता स्वीकार गरेर अनि अपराधको हिस्सेदार बनेर एकीकृत समाजवादी र समाजवादी प्रेस संगठनमा अव कोही पनि बस्दैनन । प्रेस चौतारी नेपालमै फिर्ता हुन्छन । सवै साथीहरु चौतारीमै फर्कनुपर्छ भन्ने निश्कर्षमा पुगिसकेका छन,’ प्रेस चौतारी प्रवेससँगै अध्यक्ष सुवेदीले भन्नुभयो ।
सुवेदीले आफू कुनै कुरा आस गरेर प्रेस चौतारी नेपालमा नआएको बताउनुभयो । आफूले प्रेस चौतारी नेपाल छाड्दा भएको घाटालाई पूर्ति गर्ने गरी काम गर्ने सुवेदीले बताउनुभयो । संगठन र पार्टीले जहाँ ठाउँ दिन्छ आफू त्यहीँ बसेर काम गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्