काठमाडौं, कात्तिक ८ । सर्वोच्च अदालतले पूजा बोहोरा बलात्कार प्रकरणमा घटनाको आठ वर्षपछि सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गरेको छ। उच्च अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै बिहीबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र हरि फुँयालको संयुक्त इजलासले उनीहरुलाई बलात्कारी ठहर गरेको हो।
जिल्ला अदालत बैतडीकोको फैसला उल्ट्याउँदै उच्च अदालत महेन्द्रनगरले यी अभियुक्तले सफाई पाउने फैसला सुनाएपछि घटना एवम् तथ्य प्रमाणको न्यायोचित विश्लेषण हुन नसकेको भन्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा ‘दाहोर्याई पाउँ’ निवेदन दर्ता गराएको थियो। २०७१ साल पुस २ गते पेश भएको उक्त निवेदनमा पाँच वर्षपछि अन्तिम फैसला आएको हो।
२०६८ चैत ७ एसएलसी परीक्षा दिन बैतडीको कैलापालबाट पाटन बजारस्थित श्रीकृष्ण उच्च माध्यमिक विद्यालय पुगेकी बोहोरा बलात्कारको शिकार भएकी थिइन । गेसपेपर किन्न स्टेशनरी पसलमा गएका बेला कोकाकोलामा लागूपदार्थ मिसावट गरी खुवाएर बेहोस बनाइएको अभियोग भट्ट र अवस्थीविरुद्ध थियो। शौचालयमा बलात्कृत भएकी बोहोरा पसल नजिकैको नालीमा अचेत अवस्थामा फेला परेकी थिइन्।
पीडितको उपचार, मेडिकल रिपोर्ट र घटना प्रकृती मुचुल्का प्रतिवेदनबाट उनीमाथि बलात्कार भएको तथ्य खुलेको थियो। तर भट्ट र अवस्थी उक्त प्रकरणमा संलग्न भएको भन्ने शंकारहित प्रमाणको अभाव दर्शाउँदै उच्च अदालत महेन्द्रनगरका तत्कालीन न्यायाधीशद्वय रमेशप्रसाद भण्डारी र नरबहादुर शाहीको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाई पाउने निर्णय दिएको थियो।
उच्चको उक्त फैसलामा ‘वारदातस्थल’ स्पष्ट नभएको र ‘अभियुक्तले कसूरमा इन्कारी बयान दिएको’ तथा ‘पीडितको बकपत्रमा असंगति देखिएको’ भन्ने आधारसमेत लिइएको थियो। सर्वोच्चले यो प्रकरणमा घटना र स्वतन्त्र प्रमाणले बलात्कार नै पुष्टि भएको किटान गरेको छ। साथै पीडितको बकपत्र तलमाथि परेका आधारमा मात्र न्याय नमर्ने मानक फैसलासमेत भएको छ।
उच्च अदालतबाट अभियुक्तले सफाई पाएपछि पीडित बोहोराले त्यतिबेला भनेकी थिइन्, ‘उनीहरु निर्दोष ठहरिनु भनेको म दोषी ठहरिनु हो। जस्ले उनीहरुलाई निर्दोष सावित गर्यो, तिनले मलाई दोषी ठहर्याउनुपर्छ। मेरो जीवन निमोठ्नेहरु अदालतबाटै निर्दोष भएपछि सबभन्दा ठूलो अपराधी म हुन पुगेकी छु।’ बोहोराले ढिलै भए पनि न्याय पाएकी छन्। सर्वोच्चले अर्को सुनुवाइमा उनीहरूमाथि सजाय तोक्नेछ । उक्त घटनामा जिल्ला अदालत बैतडीले १३ वर्ष सजाय र ५० हजार क्षतिपूर्तिको फैसला गरेको थियो । जसमा ८ वर्षअघि सामूहिक बलात्कारको आरोपमा थप ५ वर्ष सजायको फैसला भएको थियो । पछि तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले जिल्लाको फैसला उल्ट्याई आरोपितहरू निर्दोष रहेको फैसला गरेको थियो ।
एसएलसी दिन सदरमुकाम आएकी किशोरी पूजा बलात्कारपछि नालीमा फालिएकी थिइन् । घटनापछि प्रहरीले जाहेरी लिन मानेको थिएन । विद्यालयका प्राध्यापक र व्यवस्थापन समितिका अध्यक्षले जाहेरी दिए पनि प्रहरीले लिएन । विद्यार्थीले बजार बन्द गरेपछि मात्रै उनीहरूलाई प्रहरीले पक्राउ गर्यो र मुद्दा चलायो । सागर जगन्नाथ पुस्तक पसलको सञ्चालक थिए भने अमर चाँदनी फोटो स्टुडियोको सञ्चालक थिए।
पीडित किशोरी पूजा ०६८ चैत ९ गते एसएलसी दिने तयारीमा रहँदा बलात्कृत भएकी थिइन् । जिल्लाको फैसला पुनरावेदन अदालतबाट उल्टिएपछि पीडितले एक दैनिक पत्रिकामार्फत न्याय परिषद् अध्यक्ष तथा सदस्यहरूलाई खुलापत्र लेख्दै न्यायाधीशहरूमाथि छानबिन र सजायको माग गरेकी थिइन् । त्यतिबेला पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशहरू नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीले विवादास्पद फैसला गरेका थिए । शाही ‘खराब आचरण’ को फरक आरोपमा केही दिनअघि मात्रै बर्खास्तको सिफारिसमा परेका थिए । राजभण्डारी उच्च अदालतमै न्यायाधीश छन् ।
त्यतिबेला शाही र राजभण्डारीको इजलासले ‘पीडित किशोरीले आफूमाथि भएको घटनाको सिलसिलेवार बयान दिन नसकेको र घटनाको अनुसन्धान फितलो भएको’ आधार देखाउँदै पुनरावेदनले फैसला उल्ट्याएको थियो । पुनरावेदन अदालतले फैसलामा पीडित बालिकाको भित्री वस्त्रमा वीर्य र रौंहरू भेटिए पनि त्यो प्रतिवादीको भनेर यकिन हुन नसकेको’ ठहर गरेका थिए ।
पीडितको शरीर जाँचका क्रममा गुप्तांगमा चोट पुगेको (योनीको झिल्ली च्यातिएको) अनि आँखाको तलतिर चोट लागेको प्रतिवेदन थियो । पुनरावेदन अदालत महेन्द्रनगरले ‘उमेर पुगेका महिलामा त्यो स्वाभाविक हुने’ टिप्पणी गरिदियो । त्यतिबेला पीडित बालिका १४ वर्षकी मात्रै थिइन् । दोषीलाई १३ वर्षका दरले कैद र ५० हजारका दरले जरिवाना हुने भनी ०६९ फागुन २२ गते जिल्ला अदालतले फैसला गरेको थियो । उक्त फैसला ल्ट्याउँदै तत्कालीन पुनरावेदन अदालतले ०७१ वैशाख १५ गते आरोपितलाई सफाइ दिएको थियो । तर सर्वाेच्चले दुवै जनालाई दोषी ठहर गरेको हो ।
प्रतिक्रिया दिनुहोस्