जनता टाइम्स

५ माघ २०८१, शनिबार ०९:५८

विकास निर्माणको क्षेत्रमा गर्नुपर्ने काम धेरै भए पनि देशको आर्थिक अवस्था अहिले त्यति राम्रो छैन : सभामुख घिमिरे


रामेछाप, माघ ५ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विकास निर्माणको काममा राजनीतिक दलहरूबीच एकता आवश्यक रहेको बताउनु भएको छ ।

मन्थली नगरपालिका कार्यालयमा शुक्रबार आयोजित स्वागत कार्यक्रममा बोल्दै सभामुख घिमिरेले स्थानीय स्तरका समस्या समाधानको लागि राजनीतिक दलबीचको एकता कायम हुँदा सहयोग पुग्ने बताउनु भयो । राजनीतिक दल, नागरिक समाज तथा सामाजिक संस्थाहरूको एकताले स्रोत जुटाउन सहज हुने उहाँले धारणा राख्नु भयो ।

कार्यक्रममा बोल्दै घिमिरेले शिक्षालाई उन्नत खालको संस्कार र संस्कृतिसँग जोड्नु पर्ने बताउनु भयो । अहिले समाजमा सो कुरा क्षयीकरण हुँदै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘व्यवहारिक शिक्षामा हामी छैनौँ, यो शिक्षाबाट मानिसले सृजनशील ढङ्गले काम गर्न सक्दैन’, सभामुख घिमिरेले भन्नुभयो ।

उहाँले स्थानीय उत्पादनलाई बढाउने र उद्यमशीलता विकास गर्ने जनशक्ति आजको आवश्यकता रहेको र यसका लागि व्यावसायिक ज्ञान र शिक्षा आवश्यक रहेकोमा पनि जोड दिनुभयो ।

देशमा विकास निर्माणको क्षेत्रमा गर्नुपर्ने काम धेरै भए पनि देशको आर्थिक अवस्था अहिले त्यति राम्रो नभएको उहाँले बताउनु भयो । त्यसैले कतिपय गर्नै पर्ने काम पनि हुन नसकेको घिमिरेको भनाइ छ । तथापि सरकारले काम गर्नु पर्ने र केही न केही काम गरिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले मन्थली नगरपालिकाबाट भएका काम र समस्या बारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा वाग्मती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठ लगायतका जनप्रतिनिधहरुको समेत सहभागिता थियो ।