लमजुङ, माघ ६ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले अव काममा आलटाल गर्ने र घुसमा रमाउने कर्मचारी नबच्ने सरकारको बटमलाइन सुनाउनु भएको छ । अव नागरिकको कामलाई आलटाल गर्ने र घुस खाने कर्मचारी कारबाहीमा पर्ने प्रवक्ता गुरुङले प्रष्ट पार्नुभएको हो ।
‘घुस खाने र जनताको काममा आलटाल गर्ने कर्मचारी अब बाँकी रहँदैनन,’ लमजुङको क्व्होलासोथार गाउँपालिका–९, गिलुङस्थित बुद्धोदय माविको स्वर्ण जयन्तीलाई आइतबार सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले भन्नुभयो । उहाँले कर्मचारीको कार्यशैली पञ्चायतबाट हालसम्म नबदलिएको कारण सरकारले कठोर कदम चाल्नुपरेको जानकारी पनि दिनुभयो ।
‘पञ्चायतमा पञ्चायतले भनेका मान्ने । बहुदलमा बहुदलले भनेका मान्ने । जनताको कुरा सुन्दै नसुन्ने । अहिले पनि उस्तै छ,’ उहाँले भन्नुभयो, ‘व्यवस्था बदलियो, तर कर्मचारीतन्त्रको काम गर्ने तरिका बदलिएन । शासन प्रणाली बदलियो, मान्छेको काम बदलिएन ।’
मन्त्री गुरुङका अनुसार एक दिनमा हुने काम एक साता लगाइदिने, एक महिनामा हुने काम १० महिनासम्म लगाइदिने भएकाले अहिलेको प्रणाली अन्त्यको लागि अध्यादेश ल्याएको बताउनु भयो । ‘हामीले संविधानको मर्म र संविधानको प्रावधानअनुसार अध्यादेश ल्याएका हौं,’ उहाँले भने । मन्त्री गुरुङले अध्यादेशले सुशासन कायम हुने ठोकुवासमेत गर्नुभएको छ ।
यस्तै उहाँले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेकोले यो भन्दा नयाँ व्यवस्था नरहेको बताउनु भयो । ‘संघीय गणतन्त्रको विकल्प समृद्ध संघीय गणतन्त्रमात्रै हुन्छ । लोकतन्त्रको विकल्प समृद्ध लोकतन्त्रमात्रै हुन्छ’ अब पनि जनताको काम नहुने अवस्था हो भने जनताले कहिले सुख पाउने ?’ मन्त्री गुरुङले भन्नुभयो । संविधानले तोकेको बाहेक अव नागरिकका काम ७ दिनभित्रै सक्नुपर्ने पनि उहाँले प्रष्ट पार्नुभयो ।
‘काम नगरेमा उस्ले प्रतिवेदन बुझाउनु पर्छ । सरकारले कारबाही गर्छ,’ मन्त्री गुरुङले भन्नुभयो । क्व्होलासोथार–९, गिलुङ टक्सार निवासी सञ्चारमन्त्री गुरुङले ७ वर्ष बुद्धोदय माविमा अध्यापन गराउनु भएको थियो । आफैले पढाएको बिद्यालयमा मन्त्री गुरुङले सरकारको प्रष्ट बटमलाइन सुनाउनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्