काठमाडौं, माघ ७ । मुलुकका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि मुलुकको आर्थिक अवस्थामा सुधार हुँदै गएको देखिएको छ ।
अर्थ मन्त्रालयको तथ्यांकअनुसार प्रमुख आर्थिक परिसूचकहरू कुल ग्राहस्थ उत्पादन, आर्थिक वृद्धिदर पूँजीबजार, उपभोक्ता मूल्य सूचांक, आयात, निर्यात, कूल विदेशी विनिमय सञ्चिति, राजश्व परिचालन लगायत सूचकहरूमा सुधार देखिएको छ । आइतवार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको तथ्यांकअनुसार राजश्व संकलन बिगतका बर्षका तुलनामा उल्लेख्य बृद्धि भएको छ । राजश्व संकलन लक्ष्यको ८४ प्रतिशत पूरा भएको तथ्यांकले देखाएको हो ।
यस अवधीमा सरकारले लक्ष्यको ८४ प्रतिशत राजश्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म ८४.३ प्रतिशत राजश्व सङ्कलन गरेको हो । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुस मसान्तसम्ममा ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस अवधिमा ६ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको थियो । गत वर्षको तुलनामा भने सरकारको राजस्व वृद्धि भएको छ ।
‘चालू आर्थिक वर्षको प्रथम ६ महिनामा १२.७ प्रतिशतको राजस्व वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा ८.२ प्रतिशतको राजस्व वृद्धि थियो’, अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले भन्नुभयो । चालू आवको ६ महिनामा शिक्षा सेवा शुल्क शीर्षकमा सबैभन्दा बढी राजस्व सङ्कलन भएको छ । यस अवधिमा एक अर्ब ८५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन लक्ष्यको १७६.२ प्रतिशत बढी हो । यस अवधिमा एक अर्ब ५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो ।
अर्थतन्त्र डुब्यो भनेर प्रायोजित प्रचार गरियो । सरकारले बिग्रेको अर्थतन्त्रलाई सुधार गरेर यहाँसम्म ल्याएको छ । सबल र सशक्त बनाउँदै लगेका छौँ । अर्थतन्त्रका समस्याहरू समाधान गर्दै लगेका छौँ । अर्थतन्त्र डुब्यो भनेर हावादारी टिप्पणी गर्नुका कुनै अर्थ छैन
बजेट खर्चमा पनि सुधार
यस अवधीमा संघीय सरकारको बजेट खर्चमा पनि सुधार भएको छ । चालू आवको ६ महिनामा वार्षिक विनियोजनको तुलनामा व्यय ३५.९ प्रतिशत भएको छ । गत आवको सोही अवधिमा यस्तो व्यय ३२.४ प्रतिशत थियो । वार्षिक विनियोजन १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ रहेको थियो । जसमा पुससम्मको व्यय ६ खर्ब ६७ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
गत आवको ६ महिनामा ३५ प्रतिशत चालू खर्च भएको थियो । यस शीर्षकमा झिनो सुधार भएको छ । चालू आवको ६ महिनामा चालू खर्ब ३६.५ प्रतिशत भएको छ । गत वर्षको तुलनामा यस वर्षको ६ महिनामा संघीय बजेटको खर्चको अवस्थामा सकारात्मक वृद्धि भएको हो ।
अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ चालू आवको ६ महिनामा ४ खर्ब ८ अर्ब ८७ करोड रुपैयाँ अनुदान विनियोजन गरिएको छ । जसमा पुस मसान्तसम्म एक खर्ब ८५ करोड ४४ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । जुन विनियोजनको ४५.४ प्रतिशत हो । अनुदान अन्तर्गत वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष रहेको छ । यसबाहेक पुस मसान्तसम्ममा ५१ अर्ब ७४ करोड राजस्व बाँडफाँड गरिएको अर्थ मन्त्रालयको भनाई छ ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्म ४९ खर्ब ९ अर्ब रुपैयाँ वैदेशिक सहायता प्राप्त भएको छ । सरकारले यस्तो सहायता वार्षिक २ खर्ब ७० अर्ब रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको थियो । चालू आवको पुस मसान्तसम्म वैदेशिक अनुदान ७ अर्ब ७२ करोड प्राप्त हुँदा वैदेशिक ऋण ४१ अर्ब ३७ करोड प्राप्त भएको छ । यस्तै चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा २ खर्ब ४० अर्ब ९ करोड कूल ऋण प्राप्त भएको छ । पुस मसान्तसम्म १ खर्ब ४९ अर्ब ६७ करोड भुक्तानी गरिएको छ ।
अर्थ मन्त्रालयले अर्थतन्त्रको बिषयमा भएको नकारात्मक प्रचारको खण्डन समेत गरेको छ । ‘अर्थतन्त्र डुब्यो भनेर प्रायोजित प्रचार गरियो । सरकारले बिग्रेको अर्थतन्त्रलाई सुधार गरेर यहाँसम्म ल्याएको छ । सबल र सशक्त बनाउँदै लगेका छौँ । अर्थतन्त्रका समस्याहरू समाधान गर्दै लगेका छौँ । अर्थतन्त्र डुब्यो भनेर हावादारी टिप्पणी गर्नुका कुनै अर्थ छैन,’ उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले भन्नुभयो । अर्थतन्त्रका सूचकहरू सकारात्मक दिशामा लैजानका लागि आफूहरू प्रयाशरत रहेको जानकारी पनि अर्थमन्त्री पौडेलले दिनुभएको छ ।
यस्ता छन प्रमुख परिसूचक
प्रतिक्रिया दिनुहोस्