चितवन, माघ ७ । मध्यराती प्रहरीले एक जना युवकलाई लात्तीले हानेको भिडिओ चितवनको भएको पुष्टि भएको छ । सामाजिक सञ्जालमा भाइरल बनेको भिडियो चितवनको रहेको प्रहरीले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका–११ बसेनी चोकमा प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घलानले ती युवकलाई कुटेको पुष्टि भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोका अनुसार उक्त घटना पुस १५ गते राति भएको हो ।
भरतपुरको वडा नम्बर ११ को गणेशस्थान अस्थायी प्रहरी पोष्टका प्रसनि ड्यूटीमा रहेका बेला राति करिब सवा १० बजेतिर एक स्कुटरसहित ४ वटा मोटरसाइकलमा युवाहरू आएको र त्यसपछि सो घटना भएको हो । ती युवाले मोटरसाइकल छुटाउन आफूभन्दा माथिल्लो तहकालाई फोन गर्न लागेपछि ड्यूटीमा रहेका प्रसनि घलानले लात्तीले युवकलाई कुटेको प्रहरीको दावी छ ।
डीएसपी महतोका अनुसार सो रात चारवटै मोटरसाइकललाई ट्राफिक जरिवानापछि भोलिपल्ट दिउँसो छोडिएको थियो । कुटाइको विषय भने भिडिओ सार्वजनिक भएपछि मात्रै थाहा भएको महतोले बताउनु भयो । सो घटनामा प्रहरीले युवालाई कुट्नु गलत भएको स्विकारोक्ति प्रहरीले गरेको छ ।
डीएसपी महतोका अनुसार घटनाको छानविन गर्न ५ सदस्यीय समिति बनाइएको छ । अध्ययन प्रतिवेदनको आधारमा कुट्ने प्रहरीलाई कारबाही हुने उहाँले बताउनु भयो । सो समितिको संयोजकमा महतो आफै हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्