जनता टाइम्स

८ कार्तिक २०७६, शुक्रबार १३:२५

सिक्किमका मुख्यमन्त्री गोले बिधानसभामा निर्वाचित : प्रमुख प्रतिपक्षी बन्यो भाजपा, एक्लो बने चाम्लिङ


सिक्किम, कात्तिक ८ । भारतको सुन्दर हिमाली राज्य सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पिएस गोले) निर्वाचत हुनुभएको छ । रिक्त तीन सिटका लागि बुधवार भएको निर्वाचनमा मुख्यमन्त्री गोले पूर्वमुख्यमन्त्री पवन चाम्लिङको गृहनगरबाट भारी मतअन्तरमा निर्वाचित हुनुभएको हो ।

सिक्किमको विधानसभा चुनावको इतिहासमा पहिलो भारतीय पटक प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) ले पनि जित हासिल गरेको छ । चुनावमा भाजपाले दुई सिटमा जित हात पारेको हो । सिक्किम क्रान्तिकारी मोर्चाले केही महिना अघि भएको विधानसभा निर्वाचनमा बहुमत हासिल गरेपछि गोले मुख्यमन्त्री बन्नुभएको थियो । उपनिर्वाचनमा गोले बिजयी बन्नुभएको हो । सिक्किममा मुख्यमन्त्री पदमा कायम रहन छ महिनाभित्र विधानसभा निर्वाचन जित्नै पर्ने संवैधानिक ब्यवस्था रहेको छ ।

गोलेले आफ्ना चिरपरिचित प्रतिद्वन्दी तथा राजनीतिक गुरु रहेका सिक्किमका पुर्वमुख्यमन्त्री चाम्लिङले छाडेको विधानसभा निर्वाचन क्षेत्रबाट यसपाली चुनाव जित्नुभएको हो । चाम्लिङले जितेका दुई विधान सभामध्ये आफ्नै गृहनगर छाडेपछि सोही क्षेत्रमा गोले उम्मेदवार बन्नुभएको थियो । यो जित सँगै ३२ सदस्यीय विधानसभामा गोलेको पार्टीको सिट संख्या १९ पुगेको छ । चाम्लिङको पार्टी सिक्किम डेमोक्याटिक फ्रन्ट (एसडिएफ) का दश सांसद यसअघि नै पाटी परित्याग गरी मोदीको दल भाजपामा गइसकेका छन । अहिले जितेका दुई सिट सहित अब सिक्किम विधानसभामा बिजेपीका १२ सांसद हुनेछन ।

चाम्लिङका अर्का दुई सदस्य पनि गोलेको पार्टीमा प्रवेश गरिसकेका छन । यो सँगै चाम्लिङको पार्टीबाट चाम्लिङ विधानसभामा एक्ला सांसद रहन पुग्नुभएको छ । चाम्लिङका नाममा भारतमै सबैभन्दा धेरै समय २४ बर्षसम्म मुख्यमन्त्री बनेको रेकर्ड छ । उहाँले पश्चिम बंगालका मुख्यमन्त्री ज्योती वसुको २३ बर्षे लामो रेकर्ड तोडनु भएको थियो । तर लामो समय एकछत्र शासन गरेका चाम्लिङलाई यस पटक ठुलै झडका लागेको छ । आफ्नै सरकारमा मन्त्री रहेका गोलले बिद्रोह गरी नयाँ पार्टी खोलेको पाँच बर्षभित्रै बिधानसभामा चाम्लिङ एक्लै बन्न पुग्नुभएका हो । यस पटकको राजनीतिक जोड घटाउसँगै सिक्कममा भाजपा प्रमुख प्रतिपक्षी दलको रुपमा उदाएको छ ।