जनता टाइम्स

८ माघ २०८१, मंगलवार ०९:४५

शपथग्रहणलगत्तै राष्ट्रपति ट्रम्पले गरे जन्मकै आधारमा अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने आदेशमा हस्ताक्षर


वासिङ्टन डिसी (अमेरिका), माघ ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४७ औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेलगत्तै बिभिन्न आदेशमा हस्ताक्षर गर्नुभएको छ । ट्रम्पले सोमवार साँझ ४७ औं अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको हो ।

शपथ ग्रहण गरेपछि उहाँले अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना प्रकट गर्नुभयो । यस्तै उहाँले राष्ट्रको भविष्यको प्रगतिको लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उच्चतामा पुर्याउने आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै राष्ट्रपति ट्रम्पले आफ्नो शपथ ग्रहण समारोहमा अमेरिकाका नागरिकलाई एकताबद्ध भएर काम गर्नको लागि आह्वान गर्नुभयो ।

‘यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो। यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः प्रमाणित गर्दै, देशको आगामी यात्रा र नेतृत्वको एक नयाँ अध्यायको शुरुआत गरेको छ ।’ शपथ ग्रहणपछि उहाँले विशेषगरी सीमा सुरक्षा, आप्रवासी नीति, जलवायु परिवर्तनसम्बन्धी लगायत विभिन्न आदेशमा हस्ताक्षर गर्नुभएको छ । उहाँले चार वर्षअघि संसद भवनमा आक्रमण गरेको अभियोगमा सजाय काटिरहेकाहरूलाई आममाफी दिनुभएको छ ।

सोमबार राष्ट्रपतिको शपथ लिएपछि २०२१ जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको आक्रमणको घटनामा सजाय काटिरहेका १५ सय अभियुक्तहरूलाई माफी दिने निर्णयमा हस्ताक्षर गर्नुभएको हो । त्यतिबेला राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजयी भएको घोषणा गर्न बसेको कंग्रेसको बैठकलाई बिथोल्न बैठक चलिरहेको हलमा प्रवेश गरी आक्रमण गरेका थिए ।

त्यतिबेला संसद भवनमा आक्रमण गर्नेहरू ट्रम्पकै समर्थक रहेको भनिएको थियो । ट्रम्पले राष्ट्रपति निर्वाचित भएपछि ती अभियुक्तहरूलाई रिहा गर्ने बताउँदै आउनु भएको थियो । यतै राष्ट्रपति ट्रम्पले अमेरिका र मेक्सिकोको सिमानमा राष्ट्रिय आपतकाल घोषणा गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको छ । यस्तो आदेशले अब त्यहाँ सेना पठाउन अनुमति दिने भनिएको छ । त्यस्तै अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने नीतिको अन्त्य गर्ने आदेशमा पनि राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्नुभएको छ । यो निर्णयसँगै अमेरिकामा बच्चा जन्माउने जानेहरुको सपनामाथि गम्भीर धक्का लागेको छ ।

त्यस्तै आप्रवासी नीतिहरूलाई कडा पार्ने आदेशहरूमा पनि उहाँले हस्ताक्षर गर्नुभएको छ । जसमा गैरकानुनी रूपमा अमेरिकामा बसिरहेकाहरूलाई उनीहरूकै देश फर्काइने भनिएको छ ।राष्ट्रपति ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्स र विद्युतीय सवारी साधनहरूलाई नियन्त्रण गर्ने नीतिहरूको पनि खारेज गर्नुभएको छ । यस्तै राष्ट्रपति ट्रम्पले अन्य बिभिन्न आदेशमा समेत हस्ताक्षर गर्नुभएको छ ।