काठमाडौं, माघ ८ । जनताको कामभन्दा सामाजिक सञ्जालमा अन्टसन्ट बोलेर चर्चामा आउनु भएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ चर्चामा आउनकै लागि काठमाडौं आउनु भएको छ ।
संघीय राजधानी काठमाडौं आएर सिंहदरवार प्रवेश गर्ने भन्दै मेयर साम्पाङले चर्चाकै लागि युटुवर र फोटो पत्रकार बोलाएर रित्तो ग्राग्री देखाउँदै फोटो खिचाउने काम गर्नुभएको छ । चर्चामा आउन अनेक हर्कत गर्दै आउनु भएका मेयर साम्पाङको वितण्डालाई मंगलबार भने प्रहरीले रोकको छ ।
आफू मेयर भएदेखि धरानवासीलाई श्रमदान गरेरै पानी खुवाउने भन्दै चर्काे भाषण दिनुभएका हर्कले धरानवासीलाई पानी खुवाउन सफल भएको भन्दै सामाजिक सञ्जालमा भिडियो र फोटो हाल्ने गर्नुभएको थियो । तिनै हर्क अहिले धरानवासीले पानी खान पाएनन भन्दै रित्तो गाग्री बोकेर काठमाडौं आइपुग्नु भएको हो ।
पानी माग्न भन्दै रित्तो गाग्री सहित सोमबार आफ्ना पक्षका केही युट्युब च्यानलका पत्रकारहरू समेत लिएर काठमाडौं छिर्नुभएका हर्कले आज रित्तो गाग्री नै लिएर सिंहदरबार छिर्ने र चर्चामा आउने हर्कत गर्न खोज्नुभएको थियो । रित्तो गाग्रीसहित सिंहदरबार छिरेर खानेपानी मन्त्रीलाई भेट्ने कार्यक्रम हर्कको थियो ।
तर प्रहरीले हर्कको रित्तो गाग्री सिंहदरबार बाहिरै खोसिदिएको छ । चर्चामा आउन यस्तो हर्कत नगर्नोस मेयर साप भन्दै सिंहदरवारमा प्रहरीले रित्तो गाग्री खोसेको हो । त्यसो त हर्कको प्रधानमन्त्री केपी शर्मा ओली लगायतका उच्च अधिकारीसँग पनि भेट गर्ने कार्यक्रम रहेको भन्दै भाषण दिइरहनु भएको छ ।
सामाजिक सञ्जाल र सार्वजनिक स्थानमा समेत सबैलाई गाली गर्ने हर्कको हर्कतले सीमा नाघिसकेको छ । उहाँको विपक्षमा बोल्ने वा लेख्नेलाई उहाँले छाडा गाली गर्दै आउनुभएको छ । उहाँको हर्कतको विरुद्ध लेख्ने पत्रकारलाई समेत उहाँले ज्यानै लिने धम्की दिएपछि नेपाल पत्रकार महासंघले घटनाको छानबिन गर्न मिसन नै बनाएको थियो । नेपाल पत्रकार महासंघको मिसनले हर्कको हर्कत सहितको रिपोर्ट सार्वजनिक गरिसकेको छ । सो प्रतिवेदनको समेत हर्कले हुर्मत लिने हर्कत गर्नुभएको छ ।
आफू निर्वाचित भएदेखि श्रमदान गरेर नगरवासीलाई पानी खुवाउने भन्दै बगरमा दौडिने र दौडाउने हर्क अहिले पानी माग्न सिंहदरबार छिर्नु भएको थियो । यसले उहाँको श्रमदानको मिसन असफल भएको तथ्यलाई नराम्रोसँग उदांगो पारिदिएको छ । नागरिकलाई बगरमा लगेर गराइएको श्रम पनि मूल्यहीन भएको छ । यदि पानीको लागि केन्द्र सरकारसँगै सहकार्य गर्नु थियो भने हर्कका यी सबै हर्कत र प्रोपोगाण्डा किन ? चर्चामा आउन मात्रै रहेछ भन्ने प्रष्ट भएको छ ।
प्रतिक्रिया दिनुहोस्