जनता टाइम्स

८ माघ २०८१, मंगलवार १९:३३

समृद्ध दोलखा निर्माणको अभियानमा जुट्यो एमाले, यस्ता छन तीन महिने कार्ययोजना


दोलखा, माघ ८ । नेकपा एमाले दोलखाले तीन महिने गाउँस्तरीय अभियान चलाउने निर्णय गरेको छ । एमाले पोलिटब्यूरो सदस्य तथा दोलखा इञ्चार्ज पार्वत गुरुङको प्रमुख आतिथ्यतामा भर्खरै सम्पन्न जिल्ला कमिटीको पाँचौँ बैठकले यस्तो निर्णय गरेको हो ।

एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले समृद्ध दोलखा, सुखी दोलखाली अभियानको तीन महिने कार्य योजनालाई प्रभावकारी ढङ्गले परिचालन गर्ने निर्णय लिएको जानकारी दिनुभयो । बैठकले पार्टीको केन्द्रले घोषणा गरेको तीन महिने वडा केन्द्रित अभियानमा केन्द्र, प्रदेश, जिल्ला र पालिका स्तरका नेताहरू वडामा नै केन्द्रित हुने निर्णय गरेको छ ।

मानन्धरका अनुसार माघ महिनाभित्र पालिकाकाको बैठक सम्पन्न गरी वडा तहको कमिटी परिचालन गर्ने निर्णय भएको छ । अभियानको क्रममा वडा स्तरीय कामको कार्ययोजना निर्माण, टोल कमिटी गठन, सदस्यता नवीकरण र सदस्यता विस्तारको अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । यसैगरी समृद्धिको खाका तयारी तथा युवा पुस्तालाई संगठित गर्दै नवीनतम विधिहरूबाट प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने उपाध्यक्ष मानन्धरले बताउनु भयो ।

एमाले बैठकले पार्टीको पाँचौँ जिल्ला कमिटी बैठकले पारित गरेको १९ बुँदे समृद्ध दोलखा विकासको अठोटलाई कार्यान्वयन गर्न पहल थाल्ने प्रतिबद्धता पनि जनाएको छ । बैठकले नेकपा एमालेले सम्पन्न गरेको मध्य पहाडी लोक मार्ग केन्द्रित समृद्धि यात्राको क्रममा सर्वदलीय राजनीतिक नेतृत्वबाट प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समक्ष पेश गरिएको मागहरूमध्ये चीन र भारत जोड्ने त्रिदेशीय उत्तर–दक्षिण लोकमार्ग (लामाबगर–भिट्टामोड) लाई राष्ट्रिय गौरवको योजनामा समावेश गरी बजेट विनियोजन गरेकोमा नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेको छ ।

जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथी पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका एमाले नेता पार्वत गुरुङले समृद्ध दोलखा निर्माणको खाकासहित अघि बढन निर्देशन दिनुभएको थियो । बैठकमा दोलखाबाट प्रतिनिधित्व गर्ने वाग्मती प्रदेश कमिटीका सदस्यहरू र जिल्ला कमिटी सचिवालय सदस्यहरूले सुझाव दिएका थिए ।