जनता टाइम्स

९ माघ २०८१, बुधबार ०९:१७

उमेर हदसँगै अखिल क्रान्तिकारीको नेतृत्वबाट प्रचण्ड पक्षधर आउट, नारायणकाजी र जनार्दन शर्मा पक्षधरबीच प्रतिस्पर्धा


काठमाडौं, माघ ९ । नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व लिन त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । संगठनको नेतृत्व लिने आकांक्षीहरुले मंगलबार मनोनयन दर्ता गरेका छन ।

माओवादी केन्द्रको पदाधिकारी बैठकले विद्यार्थी नेतृत्व चयनका लागि सहमतिको प्रयास गरे पनि प्रतिस्पर्धी नेताको संख्या धेरै भएकाले निर्वाचन हुन लागेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति गर्नु राम्रो हुने बताए पनि अन्य नेताहरुले प्रतिस्पर्धाका लागि खुला राख्नुपर्ने बताएका थिए । सर्वसम्मत गर्ने र नगर्नेबारे पार्टी पदाधिकारीबीच मत बाझिएपछि प्रत्यक्ष निर्वाचनको तयारी अघि बढाइएको हो ।

हस्तक्षेप गरेर आफ्नो मान्छे बिद्यार्थी संगठनको अध्यक्ष बनाउने प्रचण्डको योजना भए पनि सफल हुन नसकेपछि अनलाइनमाध्यामबाट उम्मेदवारी मनोनयनको व्यवस्था गरिएको छ । अखिल क्रान्तिकारीका एक नेताका अनुसार संस्थापन, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मा पक्षका विद्यार्थीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

उमेर हदको कारण अध्यक्ष प्रचण्ड पक्षधर बिद्यार्थी नेताहरु आउट भएपछि बरिष्ठ उपाध्यक्ष नारायणकाजी र उपमहासचिव जनार्दन शर्मा पक्षधरबीच प्रतिस्पर्धा देखिएको हो । अध्यक्षका लागि हेमन्त राई, सुदीन पौडेल, उपदेश यादव र विजय सापकोटाले उम्मेदवारी दिनुभएको छ । यस्तै महासचिवमा रोशन थापा मगर, गोविन्द बानियाँ र पदम काफ्लेले मनोनयतपत्र दर्ता गराउनु भएको छ । नेतृत्वका लागि माघ १२ गते निर्वाचत हुँदैछ । सातै प्रदेशमा निर्वाचन केन्द्रमा मतदान हुनेछ ।

पुस १४ मा भएको निर्वाचनमा अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा बहुमत आएको थियो । त्यही मत परिणामअनुसार नेतृत्व लिन ३२ वर्ष उमेरमुनिका विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुन लागेको हो ।