काठमाडौं, माघ १० । संघीय राजधानी काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा तापक्रम बढन थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता बढी नै तातो महसुस हुन थालेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद सञ्जीव अधिकारीले केही दिनयता अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको बताउनु भयो । ‘लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेको छ, त्यसको पनि असरले तापक्रम बढेको छ,′ कारणबारे अधिकारीले भन्नुभयो । उहाँले अब बढ्ने समय पनि हुन लागेको बताउनुभयो ।
न्यून चापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ । यद्यपि केही दिनमा भारतको उच्च चापीय प्रणाली सिफ्ट हुने (हट्दै जाने) हुनाले अहिले दुई–तीन दिनमा जसरी तापक्रम बढेको छ, त्यो ‘रेसियो’मा भने नबढ्ने उहाँले बताउनुभयो । तर पनि अब तापक्रम उकालो लाग्ने समय भने हुन लागेको अधिकारीको भनाई छ ।
विभागले बुधवार साँझ सार्वजनिक गरेको विवरणमा काठमाडौंको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस पुगिसकेको छ । न्यूनतम तापक्रम पनि ६.२ डिग्री रहेको छ । यसपालि काठमाडौंको तापक्रम दुई डिग्रीसम्म झरेको थियो । बुधवार सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन भएको छ । २१ मापन केन्द्रमध्ये ११ वटा केन्द्रमा अधिकतम तापक्रम २० डिग्रीभन्दा माथि ‘रेकर्ड’ भएको छ ।
प्रतिक्रिया दिनुहोस्