ताप्लेजुङ, माघ १४ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा २६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जना आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी छन ।
झडपका क्रममा प्रहरीले हानेको गोली ४ जनालाई लागेको पहिचान पक्षधरले बताएको छ । उहाँहरुका अनुसार गोली लागेकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । एक जना भने अश्रुग्यास प्रहार गर्दा घाइते भएका हुन । पाथीभरा क्षेत्रको काफ्लेपाटी भन्दा करिब एक किलोमिटर माथि पहिचान पक्षधरको ‘नो केबलकार’ समूह तथा प्रहरीबीच शनिबार दिउँसो र साँझ दुईपटक झडप भएको हो ।
दिउँसोको झडपमा प्रहरीले अश्रुग्यास मात्रै प्रहार गरेको थियो। साँझ स्थिति भडिकन थालेपछि गोली नै चलाउनु परेको प्रहरीले जनाएको छ । दिउँसो ४ बजेतिर झडप हुँदा ३ जना सशस्त्र प्रहरी र आन्दोलनरत पक्षका १ जना घाइते भएका थिए । थप घाइते साँझ ६ बजेतिरको झडपमा भएका हुन । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले आन्दोलनकारीतर्फ पाँच जना र सुरक्षाकर्मीतर्फ २१ जना घाइते भएको जानकारी दिए। ‘घाइतेमध्ये दुई जना अन्दोलनकारीलाई गोली लागेजस्तो चोट छ । माहोल नियन्त्रण बाहिर जाने अवस्था बनेपछि प्रहरीले हवाईफायर गरेको हो,’ उहाँले भन्नुभयो ।
अधिकारीका अनुसार घाइते सुरक्षाकर्मीमध्ये नेपाल प्रहरीका १२ र सशस्त्र प्रहरीका नौं जना छन । इन्स्पेक्टरसहित घाइते भएको उहाँले बताउनु भयो । प्रहरीको गोली लागेर तेह्रथुमको म्याङलुङ नगरपालिका–९ का यामबहादुर लिम्बू, पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का मंगल लावती, सगुन लावती र ताप्लेजुङको फुङलिङ नगरपालिका–८ का धर्म पालुङ्वा घाइते हुनुभएको छ ।
घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको छ । यामबहादुर, सगुन र धर्मलाई थप उपचारका लागि विराटनगर ल्याइएको हो । त्यसअघि जिल्ला अस्पताल ताप्लेजुङमै उपचार गराइएको थियो । सामान्य अवस्थाका मंगल डिस्चार्ज भइसकेका छन । घाइतेहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन डीआईजी अधिकारी आफैं नोबेल अस्पताल जाँदैछन । ‘२ जनालाई गोली लागेजस्तो देखिने चोट छ। १ जनालाई चैं गोली लागेजस्तो देखिँदैन। तर, सबै घाइते बोल्न सक्ने अवस्थामा छन भन्ने जानकारी छ,’ उहाँले भन्नुभयो ।
पाथीभरा माता केबलकार कम्पनीले पाथीभरा क्षेत्रमा केबलकार निर्माण प्रक्रिया अघि बढाएको छ । त्यसको विरोध गर्दै पहिचान पक्षधरले मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समितिलगायतका समिति गठन गरेर आन्दोलन गर्दै आएका छन । कम्पनीले मंगलबारदेखि केबलकार निर्माणस्थलमा जमिन सम्याउन थालेको थियो । त्यसपछि आन्दोलनकारीहरु पाथीभरा केन्द्रित भएर विरोध गरिरहेका छन । आन्दोलनकारीले केबलकार निर्माणको काममा अवरोधको प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको प्रहरीको भनाइ छ ।
आन्दोलनकारीले हतियार लुकाएर राखेको सूचना प्रहरीले पाएको थियो । हतियारको खोजीका लागि गएको सुरक्षाकर्मीको टोलीलाई माथिबाट ढुंगा र गुलेलीले हानिएको प्रहरीको भनाइ छ । आन्दोलनकारीबाट खुकुरी, गुलेलीलगायत बरामद भएको डीआईजी अधिकारीले बताउनु भयो । उहाँका अनुसार सुरक्षाकर्मी लक्षित आक्रमण हुन थालेपछि सुरुमा अश्रुग्यास हानिएको थियो। आन्दोलनकारी झन आक्रामक बनेपछि गोली चलाउनु परेको भनाई छ ।
तर, शान्तिपूर्ण आन्दोलन गर्दा पनि प्रहरीले दमन गरेको दाबी आरोप पहिचान पक्षधरको छ । पाथीभरा मन्दिर क्षेत्रको फुङलिङ नगरपालिका–१० काफ्लेपाटीदेखि मन्दिरनजिकसम्म २.७ किलोमिटर केबलकार बनाउन काम सुरु भएको छ । पाथीभरा मुक्कुमलुङ केबलकार प्रालिले फुङलिङ नगरपालिकाबाट निर्माण अनुमति लिएर काम सुरु गरेको छ । केबलकारको लागत अनुमान करिब ३ अर्ब रूपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्