जनता टाइम्स

१४ माघ २०८१, सोमबार १५:५०

त्रिबि अन्तराष्ट्रिय विमानस्थल शनिबारदेखि ८ घन्टा मात्र बन्द हुने


काठमाडौं, माघ १४ । पूर्वाधार विस्तारका कारण राति १० बजेदेखि बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार (१९, माघ) देखि राति ११ बजेपछि बन्द भई बिहान ७ बजे खुला हुने भएको छ ।

अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सी, ह्यागंर निर्माण लगायतका पूर्वाधार विस्तारका कामका लागि धावनमार्ग नै बन्द गर्नुपर्ने भएपछि कात्तिक २३ गतेदेखि काठमाडौं विमानस्थलमा राति १० बजेदेखि उडानहरु बन्द गरेर निर्माण कार्य भइरहेका थियो ।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत १८ गतेसम्म राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान रोकेर काम गर्न नोटाम निकालेर विमानस्थलभित्र तीनवटा फरक–फरक आयोजनाको काम गराउँदै आएको थियो । सिनामंगलस्थित हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक ईन्जिनियर दिपेन्द्र श्रेष्ठका अनुसार दैनिक १० घन्टा उडान बन्द गरेर रनवेसँग जोडिएका जटिल कामको निर्माण सकिएसंगै पूर्वाधार विस्तारको समय १० घन्टाबाट घटाएर ८ घन्टामा झारिएको छ । उहाँका अनुसार विमानस्थलभित्र संचालित तीनवटै आयोजनाको ४० प्रतिशत भौतिक कार्य सकिएको छ ।

सन २०२६ पछि वार्षिक झण्डै १ करोड यात्रुलाई सेवा दिने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घन्टा उडान रोकेर तथा त्यसपछि दिनमा उडान नरोकेर पूर्वाधार विस्तारका काम हुँदै आएका छन ।

विमानस्थलमा नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणको संयुक्त ७ अर्ब हाराहारी लगानीमा अन्तर्राष्ट्रिय एप्रोन र उक्त एप्रोनलाई उत्तरतर्फको रनवेसंग जोड्ने ट्याक्सीवे निमार्ण भइरहेको छ । यो काम सन् २०२० अगस्ट २० बाट सुरु भएको हो । यो २०२६ फेब्रुअरीमा सकिने छ । यो काम चिनियाँ ठेक्दार कम्पनी एभिक इन्टरनेश्नलले गरिरहेको छ ।

विमानस्थलभित्रको दोस्रो ठेक्का हो जहाजघर (ह्यांगर)का लागि पूर्वाधार निर्माण । विमानस्थलको पूर्वीभागमा नेपाली सेना, नेपाल वायुसेवा निगम, यति एयरलायन्स, श्री एयरलायन्स लगायतका वायुसेवा कम्पनीहरुका लागि करिब ४ अर्ब रुपैयाँको लागतमा ह्यांगर क्षेत्र निर्माण भइरहेको छ ।