विराटनगर, माघ १४ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको आवश्यकताले खोजी भए आफू दलीय राजनीतिमा पुनः सक्रिय हुने उदघोष गर्नुभएको छ । गृहप्रदेश कोशीको बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो उदघोष गर्नुभएको हो ।
यद्यपी उहाँले अहिले नै कुनै दलमा आवद्ध हुने निर्णयमा आफू नपुगेको प्रष्ट पार्नुभयो । दलीय राजनीतिमा फर्कने र एमालेको अध्यक्ष बन्ने प्रयासमा रहेको हो कि होइन भन्दै सञ्चारकर्मीले पटकपटक सोधेको प्रश्नमा भण्डारीले राष्ट्रको आवश्यकताले खोजी भए दलीय राजनीतिमा पुनः फर्कने बताउनु भयो । पूर्वराष्ट्रपति भण्डारीले दलीय राजनीतिमा नभए पनि आफू अहिले पनि राष्ट्रिय राजनीतिमा भने सक्रिय नै रहेको पनि बताउनु भयो ।
‘राष्ट्रपति पद गैरराजनीतिक पद होइन । राष्ट्रिय राजनीतिमा म सक्रिय नै छु । राष्ट्रिय राजनीतिका समग्र एजेन्डामा सबै पक्षहरूसँग छलफल गरिरहेको छु, शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्नत, वैदेशिक रोजगारीमा जानुपर्ने युवाको बाध्यताजस्ता समस्या समाधानका लागि छलफल चलाइरहेको छु,’ भण्डारीले भन्नुभयो । ती एजेन्डा पूरा गर्न कुनै दलमा आवद्ध हुनुपरे सोहीबेला निर्णय गर्ने उहाँले प्रष्ट पार्नुभयो ।
दलीय राजनीति राजनीतिकमा सक्रिय हुने अवस्थामा एमालेमै जानुपर्ने उहाँको भनाइ थियो । एमालेको भावी अध्यक्षको भूमिका आउन चाहनुभएको हो भन्ने प्रश्नमा भण्डारीले भन्नुभयो, ‘दलीय राजनीतिमा लागेर पद जिम्मेवारी लिने कि नलिने भन्ने कुरामा मैले अहिले प्रवेश गरेकी छैन । भोलि कुन दलमा काम गर्ने भन्ने कुरा पनि आउँछ । भोलि जाँदा एमालेबाटै जन्मेर हुर्केर आएको हुनाले त्यही जानुपर्ने हुन्छ । तर, अहिले छलफल भएको छैन ।’
आफ्नो पुरानो गृहजिल्ला मोरङ भएकोले पुराना र नयाँ साथीसँग भेटन आफू आएको उहाँले जानकारी दिनुभयो । ‘विराटनगर मेरो पुरानो गृह जिल्ला पनि हो, राजनीति गरेको स्थान पनि हो। पुराना साथी र नयाँ पुस्तासँग पनि भेट हुने भएर म आएको हुँ । यही क्रममा तपाईंहरूसँग पनि भेट्न मन लाग्यो,’ उहाँले भन्नुभयो । पूर्वराष्ट्रपति भण्डारी सुनसरीको इटहरीस्थित जनतामाविको वार्षिक कार्यक्रममा सहभागी हुन जाने क्रममा विराटनगरमा सञ्चारकर्मीसँग छोटो सम्वाद गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्