जनता टाइम्स

९ कार्तिक २०७६, शनिबार ११:१३

यसकारण महराविरुद्ध करणी उद्योगमा मुद्दा चलाउने निश्कर्षमा पुग्यो प्रहरी, यी हुन मुख्य आधार


काठमाडौं, कात्तिक ९ । तात्कालिन सभामुख कृष्णबहादुर महरा र पीडित भनिएकी रोशनी शाहीले इन्कारी बयान दिएपनि महराविरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ। निवर्तमान सभामुख महराको बयान सकिएसँगै प्रहरीले शुक्रवार अनुसन्धानको मिसिल जवरजस्ती करणी उद्योगमा मुद्दा चलाउन रायसहित सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

प्रहरीले २० दिन लगाएर महराबिरुद्ध अनुसन्धान प्रतिवेदन तयार पारेको हो। महराले भने रोशनी शाहीमाथि बलात्कार प्रयास नगरेको बयान दिएका छन्। तर घटनास्थलमा प्राप्त सवुद प्रमाणको आधारमा महराले शाहीमाथि बलात्कार प्रयाश गरेको प्रमाणित भएकोले प्रहरीले मुद्दा चलाउने रायसहित प्रतिवेदन बुझाएको हो । ‘म रोशनीको निवास गएको हुँ तर कोठामा प्रवेश गरिनँ। फोन गरें। उठाइनन, त्यसपछि फर्किएको हुँ, महराले बयानमा भनेका छन।’ पीडित भनिएकी शाहीले पनि घटना भएकोदिन महरा आफ्नो काठामा नआएको भन्दै बयान फेरेकी थिइन । प्रहरीले ‘तपाईंले झन्डै डेढ घण्टा बिताउनुभएको बयान तपाईंसँगै गएका अंगरक्षकले दिएका छन्, यसमा स्पष्ट खुलाइदिनोस भन्ने प्रश्नमा पनि महराले आफूले फोन मात्रै गरेको र २०–२५ मिनेट कुरेर बसेको बताएका छन्।

रोशनीले चश्माको टुक्रा र जुत्ताको तलुवा ‘महराकै हो’ भनेर प्रहरीमा उल्लेख गरेसँगै प्रहरीले यसबारे महरासँग प्रश्न गरेको थियो। जवाफमा उनले ती वस्तु आफूलाई फसाउने षड्यन्त्रअनुरूप त्यहाँ राखेको जिकिर गरेका छन । आफ्नो होइन भन्न सकेका छैनन । अंगरक्षकले दिएको बयानमा भने महरा रोशनीको कोठामा पुगेर फर्किएपछि मदिराले लठ्ठिएका थिए। चश्मा लगाएर रोशनीको कोठा पुगेका महरा चश्मा नलगाई फर्किएका थिए ।

प्रहरीले बयान प्रमाणित गरेसँगै एक घटनापछि पहिलो पटक हाम्राकुरा डटकम अनलाइनलाई रोशनीले दिएको अन्तर्वार्तालाई पनि प्रमाणका रूपमा लिएको छ। ‘हामीले बलियो प्रमाणसहित सरकारी वकिल कार्यालयमा मिसिल बुझाएका छौं’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतलेजनताटाइम्ससँग भने, ‘महराबिरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा चल्ने स्पष्ट प्रमाण छ।’

महराले आफू सार्वजनिक पदमै रहेका बेला त्यस्तो हर्कत गरेकाले प्रहरीले फौजदारी अपराध संहिताअन्तर्गत थप सजायको मागदाबीसमेत गरेको छ। रोशनी र महराबीच पटक–पटक भएका फोन संवाद र एसएमएसलाई पनि प्रहरीले प्रमाणका रूपमा जुटाएको छ। महरा र शाहीबीच भएको म्यासेजमा पनि जवरजस्ती करणीको अभियोग पुष्टि हुने प्रहरीको भनाई छ । स्रोतका अनुसार उनलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को बलात्कार प्रयाससम्बन्धी कसुरमा कैद तथा सजायको माग गरिएको छ। घटना भएकै राती शाहीले महराका छोरा राहुललाइ म्यासेज पठाएर आफूलाई बलात्कार र कुटपीट गरेको बताएकी थिइन ।

घटना सार्वजनिक भएपछि सभामुखबाट हात धुन बाध्य भएका महरालाई असोज १९ गते सभामुखको सरकारी निवास बालुवाटारबाटै पक्राउ गरिएको थियो। असोज १२ गते राति संसद् सचिवालयमा कार्यरत रोशनीमाथि बलात्कार प्रयास गरेको आरोपमा महराविरुद्ध प्रहरीमा किटानी जाहेरी परेपछि पक्राउ गरिएको थियो।

जवरजस्ती करणीमा महरा पक्राउ परेपछि पीडित भनिएकी शाहीले मिडियादेखि बिज्ञप्ती निकाल्नुका साथै अदालतमा समेत आफूमाथि महराले यौन दुर्ब्यवहार नगरेको भन्दै निवेदन दिएकी थिइन । महराले पनि इन्कारी बयान दिएका छन । तर सवुत प्रमाणले शाहीको फेरिएको बयान र महराको बयान झुटो प्रमाणित गरेपछि महराबिरुद्ध जवरजस्ती करणी उद्योगमा मुद्दा दायर गर्ने निश्कर्षमा प्रहरी पुगेको हो ।