काठमाडौं, माघ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस स्वतन्त्रता र सामाजिक सञ्जालमा भेद रहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल काठमाडौं जिल्ला समितिको छैटौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष बस्नेतले सामाजिक सञ्जाल नियमन गर्ने विषयलाई प्रेस स्वतन्त्रतासँग जोड्न नहुने बताउनुभयो ।
अध्यक्ष बस्नेतले सामाजिक संजाल नियमन विधेयकको अध्ययनबिनै बिरोध गर्ने काम भइरहेको भन्दै यो सरकारविरोधी मानसिकता र अराजकताको पक्षपोषण भएको निष्कर्ष पनि सुनाउनु भयो ।
‘प्रेस स्वतन्त्रता र सामाजिक सञ्जाल बिचको भिन्नतालाई छुट्याउनु पर्छ, पत्रकारको काम सरकारलाई खबरदारी गर्ने हो, तर गलत काम गर्नेलाई उक्साउने होइन’, उहाँले भन्नुभयो ।
उहाँले पत्रकारका नेताहरूले सत्य र असत्य बिचको भेद छुट्याउनु पर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघका नेताले त अझ यो कुरा बुझ्नै पर्नेमा उहाँले जोड दिनुभयो । नेपाल पत्रकार महासंघले सत्य असत्य नछुट्याई विज्ञप्ति निकाल्ने कुराले राम्रो सन्देश नजाने बस्नेतले स्पष्ट पार्नुभयो ।
उहाँले नेपाली प्रेस, पत्रकार, सञ्चारकर्मीदेखि राजनीतिक दल र नेतासम्म सवैले अहङ्कार र आत्मविश्वासमा थोरै मात्र भिन्नता हुने कुरालाई बुझ्नु पर्ने बताउनुभयो । ‘मैले भनेको मात्र सत्य हो, मैले भनेकै हुनुपर्छ मैले मात्र पाउनुपर्छ भन्नु अहङ्कार हो, मैले भनेको सत्य हो भन्नु चाही आत्मविश्वास हो, यत्ति कुरा बुझ्नु पर्छ’, उहाँले भन्नुभयो ।
अध्यक्ष बस्नेतले बस्नेतले आफ्नो अनुहारमा लागेको दाग मेट्नुको साटो ऐन पुछेर अनुहारको दाग नमेटिने बताउनुभयो । यो कुरालाई हृदयङ्गम गरी सबैले अघि बढ्नु पर्नेमा उहाँले बताउनुभयो ।
सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयकमा रहेका विषय बस्तु प्रेस स्वतन्त्रता हनन् गर्ने खालका नभएका बताउँदै बस्नेतले सो विधेयक दर्ता गर्नु अघि पत्रकारहरूका संगठनलाई सोधेको भए राम्रै हुने बताउनुभयो । यो सन्दर्भमा भने सञ्चार मन्त्रालयको त्रुटि भएको उहाँको भनाइ छ ।
आफू प्रेस स्वतन्त्रता विरुद्ध लड्दै आएको व्यक्ति भएकोले प्रेस स्वतन्त्रता विरुद्धका कुनै पनि कानुनको पक्षमा नरहेको बस्नेतले बताउनुभयो । आफ्नै पार्टी सरकारमा हुँदा समेत प्रेस स्वतन्त्रता विरुद्धका कानुन ल्याउँदा प्रेस चौतारी नेपाल सडकमा उत्रिएको उहाँले स्मरण गराउनुभयो ।
स्वाभिमानको आन्दोलनमा होमिएको र नेपालमा काम गर्ने प्रधानमन्त्रीको रूपमा स्थापित भएका केपी ओली विरुद्ध अहिले आक्रमण भइरहेकोले उहाँलाई जोगाउन प्रेस चौतारी नेपाल खुलेर लाग्ने बस्नेतले बताउनुभयो । केपी ओली विरुद्धको आक्रमण नेपालको समृद्धिको विरुद्धको अभियान भएको उहाँको धारणा छ ।
उहाँले प्रेस चौतारी नेपाल स्वाभिमानी पत्रकारहरूको संगठन भएकोले धम्क्याउने र तर्साउने दुषसाहस नगर्न आग्रह गर्नुभयो । आफ्नै संगठन भित्र पनि पद खोज्ने, काम नगर्ने, कुरा काट्ने केही व्यक्तिहरू भएका बताउँदै बस्नेतले त्यस्ता व्यक्तिहरूका धम्कीबाट आफू नडराउने स्पष्ट पार्नुभयो ।
‘म केपी ओलीबाट प्रशिक्षित र दीक्षित कार्यकर्ता हुँ, कसैको गाली र धम्कीबाट तर्सिन्न’, अध्यक्ष बस्नेतले भन्नुभयो ।
नेकपा एमालेका उपमहासचिव तथा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले लक्ष्मण शर्माको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्