जनता टाइम्स

२४ माघ २०८१, बिहीबार १२:४५

अछामबाट बादलको घोषणा : जनयुद्ध हिंसा नै हो, नेकपा छाडेर प्रचण्डले माओवादीभित्रको पारिवारिक गुट बनाए


अछाम, माघ २४ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले तत्कालीन अवस्थामा नेकपा माओवादीले सुरू गरेको जनयुद्ध ‘हिंसा’ नै रहेको प्रष्ट पार्नुभएको छ ।

पत्रकार महासंघ अछामले आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष थापाले जनयुद्धबारे यस्तो टिप्पणी गर्दै दुनियाँमै नभएको जनयुद्ध दिवस माओवादीको स्टन्टबाजीमात्र भएको बताउनु भयो । तत्कालीन समयमा माओवादीको तेस्रो वरीयतामा रहनुभएका थापाले प्रचण्डबारे पनि आगो ओकल्नु भयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धलाई हिंसाको रूपमा चित्रण गर्दा तपाईँ जनयुद्धप्रति गर्व गर्नुहुन्छ कि हुन्न ? भन्ने पत्रकारको प्रश्नमा उपाध्यक्ष थापाले भन्नुभयो, ‘जनयुद्ध भनेको युद्ध हो । युद्ध भनेको हिंसा हो । हिंसामा मर्ने र मार्ने हुन्छ । यो कुरालाई माओवादीले पनि मान्छ । हिंसा भनेको संघर्षको सर्वोच्च रूप हो । प्रत्येक हिंसा युद्ध होइन । युद्ध भनेको राजनैतिक आन्दोलनको उच्चतम रूप हो । ’

तत्कालीन अवस्थामा नेकपा गठन गर्दा पनि यस विषयमा गहन छलफल भएको उपाध्यक्ष थापाको भनाइ थियो । १० वर्षको जनयुद्धले वा सशस्त्र संघर्षले नेपालको लोकतन्त्रिक क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेलेको एमालेको १०औँ महाधिवेशनले पनि पूर्ण रूपमा निषेध नगरेको थापाले बताउनु भयो ।

माओवादीले युद्ध सुरू गर्दा एमालेको तत्कालीन समर्थन नभएको उहाँको भनाइ थियो । थापाले जनयुद्ध दिवस मनाउनुको पनि कुनै अर्थ नरहेको टिप्पणीसमेत उहाँले गर्नुभयो ।

‘जनयुद्ध दिवस कहीँ दुनियाँमा मनाइँदैन । माओवादीहरूको एक ढङ्गको इस्टनबाजी हो । गणतन्त्र दिवस मनाउने हो । संविधान दिवस मनाउने हो । त्यो मनाइरहेका छौं । जनयुद्ध दिवस मनाउने माओवादीको गलत डिसिजन हो,’ एमाले उपाध्यक्ष थापाले भन्नुभयो ।

अर्को प्रसङ्गमा उहाँले नेकपा एमाले र नेपाली कांग्रेसको समीकरण ०८४ सम्म जाने प्रष्ट पार्नुभयो ।‘यसलाई भत्काउने कोसिस भइरहेको छ । यो भत्किने सम्भावना छैन,’ थापाले भन्नुभयो ।

पछिल्लो समय पार्टी छोड्ने र जोडिने सन्दर्भ जोड्दै आफू कुनै पार्टी छाडेर नआएको, नेकपाकै निरन्तरता स्वरूप एमालेमा रहेको थापाले प्रष्ट पार्नुभयो।

‘अर्को पार्टी छोडेर एमालेमा आएको होइन । विचारमा एकरूपमा भएको हुँदा म एमालेमा आएको हुँ । यो नयाँ एमाले हो, पुरानो एमाले होइन । माओवादी केन्द्र र नेकपा एमाले मिलेर नेकपा भएको हो । त्यो नयाँ पार्टी हो’, थापाले भन्नुभयो ।

पार्टी लाइनबाट विचलित भएर केही सदस्यहरूसहित प्रचण्ड पार्टीबाट निस्किएको बादलले बताए । माधव नेपाल र वामदेव पनि अवसर नपाएर नेकपाको निरन्तरताबाट बाहिर गएको उहाँको भनाइ थियो ।

‘प्रचण्ड नेकपा छाडेर माओवादी केन्द्रमा लागे र गुट बनाए । माधव कुमार नेपालजी यहाँबाट फुट्नु भयो नेकपा एस बनाउनु भयो । वामदेव फुट्नु भयो । एकता अभियान बनाउनु भयो । उहाँहरूमा विचलित हुनुभयो । म त्यस्तो होइन ’, थापाले भन्नुभयो, ‘प्रचण्ड प्रधानमन्त्री हुन पाएनन् , एकल अध्यक्ष हुन पाएनन। माधव नेपालले प्रधानमन्त्री वा पार्टी अध्यक्ष नपाएर फुटेर गए ।’

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर निर्णायक राष्ट्रिय शक्ति बन्न कसैले रोक्न नसक्ने पनि थापाको भनाइ थियो ।

‘मिसन ०८४ मा हुने निर्वाचनमा बहुमत ल्याउनुपर्छ । एमालेले बहुमत ल्याएपछि मात्रै सुखी नेपाली संवृद्ध नेपालको परिकल्पना पुरा हुन्छ ’, उहाँले भन्नुभयो , ‘निर्णायक राष्टिय शक्ति बनाएर सरकार चलाउने लक्ष्य छ । त्यो पूरा हुन्छ । त्यसका लागि जनताको मन जित्नेगरि काम गर्न सबै नेता कार्यकर्ताहरूलाई भनेका छौँ ।’ उहाँले शान्ति प्रक्रियाको बाँकी काम चाँडै टुंग्याउन सरकार लागिरहेको जानकारी पनि दिनुभयो ।