जनता टाइम्स

२४ माघ २०८१, बिहीबार १४:३७

प्रेस जगतलाई पूर्वसञ्चारमन्त्री गुरुङको सुझाव : नेतृत्वकै कारण पत्रकार महासंघ विकृत हुने बिगतको घटना अब दोहोरिनु हुन्न


दोलखा, माघ २४ । नेकपा एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङले पत्रकारिता क्षेत्र प्रतिको उत्साह बिस्तारै काम भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालका दोलखाको आठौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई बिहीबार चरिकोटमा सम्बोधन गर्दै गुरुङले यस क्षेत्रमा उत्साह घट्नुको कारणका बारे पत्रकारले मात्र होइन राजनीतिक दल र समाजले पनि विश्लेषण गर्नुपर्ने बताउनुभयो ।

उहाँले पत्रकार महासंघभित्र पनि आफ्नै समस्या रहेका बताउनुभयो । पत्रकार महासंघको गरीमा त्यहीँ रहेको नेतृत्वको कारण पनि कमजोर भएको बताउँदै उहाँले नयाँ आएको नेतृत्वले त्यसलाई उठाउनु पर्नेमा जोड दिनुभयो । ‘पत्रकार महासंघमा यस्ता खालका विकृतिहरू अब नदोहोरिउन्’, उहाँले भन्नुभयो ।

केपी ओली नेतृत्वको कांग्रेस एमाले सम्मिलित सरकार नबनेको भए पत्रकार महासंघ महाधिवेशन नै गर्न नसकी खारेज हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । कुनै संस्थालाई जोगाउन समेत राष्ट्रलाई एमालेको नेतृत्व आवश्यक पर्ने उहाँले स्पष्ट पार्नुभयो । नेता गुरुङले केन्द्रमा मात्र होइन विकास पत्रकारिताको लागि अब गाउँगाउँबाट पत्रकार जन्मनु पर्नेमा जोड दिनुभयो । यसले तलका समाचार आउन सक्ने उहाँको भनाइ छ ।

पत्रकारिता राष्ट्रको चौथो अङ्ग भएकोले यसको मर्यादालाई जोगाउनु पर्नेमा उहाँले जोड दिनुभयो । त्यसको लागि पत्रकार पनि मर्यादामा बस्नु पर्ने र समाजले समेत त्यो मर्यादालाई कायम गर्न लाग्नु पर्ने बताउनुभयो ।

गुरुङलेले पत्रकारितामा नै नहुने व्यक्तिले पत्रकार भन्दै हिँडेर समाजमा विकृति फैलाउने काम गरेका बताउनुभयो । त्यसैले यसका लागि केही विधि र मापदण्ड निर्माण गर्नुपर्नेमा गुरुङले जोड दिनुभयो ।

उहाँले पत्रकारको क्षमता विकासको लागि नेकपा एमालेले विशेष योजना बनाउने बताउनुभयो । यसको लागि पार्टीले योजना बनाएर काम गर्ने गुरुङले प्रष्ट पार्नुभयो ।  गुरुङले दोलखामा विभिन्न जलविद्युत आयोजनाहरू निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेकाले ती आयोजनाहरू दोलखाका जनताको हित हुने गरी पत्रकारले कलम चलाउनु पर्नेमा उहाँले जोड दिनुभयो । त्यस्ता आयोजनाबाट निश्चित मानिसहरूले लाभ लिने स्थानीय श्रोतको उपयोगबाट स्थानीय समुदाय वञ्चित भइरहेको कुरालाई पत्रकारिता क्षेत्रले उठाउनु पर्ने उहाँले बताउनुभयो ।

उहाँले दोलखासँग जोडिएका आयोजनाहरू जबसम्म पुरा हुँदैनन् र ती योजना जनताको हितमा प्रयोग हुँदैनन् त्यति बेलासम्म एमालेले उठाइ रहने गुरुङले प्रष्ट पार्नुभयो ।

राज्यको पैसा दुरुपयोग गरेर कुनै राजनीतिक दलले आफ्ना कार्यकर्ता उत्पादन गर्ने थलो बनाउन नमिल्ने बताउँदै त्यसका विरुद्ध एमालेले आवाज उठाउने उहाँले बताउनुभयो । यसमा पत्रकारिता क्षेत्रलाई पनि भूमिका निर्वाह गरिदिन गुरुङले आग्रह गर्नुभयो ।

गुरुङले पत्रकारहरूलाई खोज अनुसन्धानको काममा लाग्न आग्रह गर्नुभयो । सामाजिक समस्याका साथै विश्व जगतमा भएको प्रगति र त्यसबाट नेपालले लिन सक्ने लाभको बारे पनि समाजलाई सुसूचित गर्न उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले जिम्मेवार र उत्तरदायी समाज आजको आवश्यकता भएको बताउनुभयो । पत्रकारितालाई समाजप्रति उत्तरदायी बनाउनु पर्ने र समाजले पनि पत्रकारलाई माया गर्ने बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

अहिले समाजमा विकृति बढेको बताउँदै श्रेष्ठले त्यसलाई रोकेर समाजलाई ठिक बाटोमा ल्याउनु पर्नेमा जोड दिनुभयो । समाजको निराशा चिर्न पत्रकारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । ‘एमालेले उठाएको एजेण्डा १० वर्ष लाग्ला, २० वर्ष लाग्ला तर पुरा हुन्छ, हुन्छ’, उहाँले भन्नुभयो ।

उद्घाटन कार्यक्रममा नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, अग्रज पत्रकार चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लक्ष्मण थामी, जिरी नगरपालिका प्रमुख मित्र जिरेल लगायतले शुभकामना सन्देश दिनुभएको थियो ।

कार्यक्रममा बुद्धिमान स्मृति पत्रकारिता पुरस्कार जीवन लामालाई प्रदान गरिएको थियो । प्रेस चौतारी नेपालका पूर्वअध्यक्षहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो