काठमाडौं, माघ २४ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन अवैध रहेको ठहर गरेको छ ।
राखेप कार्यकारी समितिको ३३औं बैठकले एनओसीको निर्वाचन बिधि, बिधान र कानुनसम्मत मान्न नसकिने ठहर गर्दै कारवाही प्रक्रिया अगाडि बढाएको छ । कार्यकारी समितिको बैठकले अदालतको आदेशविपरीत विद्युतीय माध्यमबाट निर्वाचन गरेको भनिएको नेपाल ओलम्पिक कमिटिको कुनै पनि बैठक लगायतका काम कारबाहीमा अवैधानिक रुपमा निर्वाचनमा सहभागी राष्ट्रिय खेल संघ र महासंघहरुलाई सहभागी नगर्न र नगराउन राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गर्ने निर्णय भएको राखेपले जनाएको छ ।
त्यस्तै, अदालतबाट भएको अन्तरिम आदेश कार्यान्वयनका लागि पटक पटक परिषदबाट जारी भएको निर्देशनको उल्लंघन गरी गरिएको निर्वाचनसम्बन्धी प्रक्रियालाई कानुनसम्मत मान्न नसकिने निश्कर्ष निकालेको छ । राखेपले नेपाल ओलम्पिक कमिटिको बैंक खाता रोक्का, वैदेशिक सहभागिता एवं अन्य कार्यक्रममा सहभागितामा रोक्का र भौतिक सम्पत्तिको अनधिकृत रुपमा उपयोगमा रोक्काको लागि सम्बन्धित नियामक निकायहरुमा पत्राचार गर्ने निर्णय पनि गरेको छ ।
राखेपको यो निर्णयसँगै एनओसीका राज गर्दै आउनु भएका नेकपा एकीकृत समाजवादी पार्टीका नेता जीवनराम श्रेष्ठको निद हराम भएको छ । उहाँ बिगत लामो समयदेखि एनओसीमा आफ्नो सिण्डकेट चलाउँदै आउनु भएको छ । बिद्युतीय माध्यमबाट निर्वाचन गरेर पनि श्रेष्ठ नै अध्यक्ष निर्वाचित हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्