जनता टाइम्स

२५ माघ २०८१, शुक्रबार ०९:२९

रास्वपाले फैलाएको सामाजिक सञ्जालको आतङ्क युद्धकालमा माओवादीले फैलाएको आतङ्क भन्दा पनि खतरनाक : महेश बस्नेत


भक्तपुर, माघ २५। नेपालको लोकतन्त्र र जनताको अधिकार प्राप्तिका लागि सञ्चार क्षेत्रको भूमिका उल्लेख्य रहेको बताउनु भएको छ ।

प्रेस चौतारी भक्तपुरको पाँचौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै बस्नेतले बिहानको धार्मिक कार्यक्रम सुन्ने आमा–बुबालाई पनि समाचार सुन्ने बनाएर सञ्चार क्षेत्रले लोकतन्त्रको आन्दोलनमा सहभागी हुन उत्प्रेरित गरेको बताउनुभयो । प्रविधिको विकाससँगै सञ्चार क्षेत्रमा पनि नयाँ प्रविधि आएकोले त्यस अनुसार पत्रकार चल्न आवश्यक रहेको उहाँको भनाई छ ।

सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोग दुवै पाटो रहेको बताउँदै बस्नेतले नेपालको सन्दर्भमा त्यसको सदुपयोग भन्दा दुरुपयोग बढी हुने गरेको उहाँले बताउनुभयो । सामाजिक सञ्जालको दुरुपयोग गरेर रवि लामिछाने जस्ता सहकारी ठगका पक्षमा भ्रम फिँजाउने काम भइरहेको उहाँले स्पष्ट पार्नुभयो । ‘रवि र रविका समर्थकहरूले सामाजिक सञ्जाललाई दूषित बनाउने काम गरिरहेका छन्, सामाजिक सञ्जालको आतङ्क हिजो माओवादीले फैलाएको आतङ्क भन्दा पनि खतरनाक छ’, उहाँले भन्नुभयो ।

सञ्चार माध्यमले गलत सूचनाको तत्काल खण्डन गर्नुपर्ने बताउनुभयो । सिङ्गो समाजलाई सञ्चार माध्यमले सही सूचना दिनु पर्नेमा पनि उहाँले जोड दिनुभयो । बस्नेतले पत्रकारहरू कुनै राजनीतिक पार्टीमा आस्था राख्न सक्ने भए पनि राजनीतिक पार्टीका नेता नै पत्रकार महासंघको सदस्य भने हुन नमिल्ने उहाँले बताउनुभयो । धेरै ठाउँमा यस्तो देखिएकोले यसलाई सच्याएर अघि बढ्नु पर्ने उहाँको धारणा छ ।