काठमाडौं, माघ २५ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्यबाट गठन भएको वर्तमान स्थीर सरकारले मुलुकको विभिन्न क्षेत्रमा देखिएका समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
शुक्रबार काठमाडौंमा श्री अरुणोदय माध्यामिक विद्यालय, भोजपुरको स्मारिका लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले ६–६ महिनामा सरकार परिवर्तन हुने परिस्थितिको अन्त्य भइ अहिले स्थीर सरकार बनेको भन्दै ठूला दल मिलेर बनेको सरकारले मुलुकको बिभिन्न क्षेत्रमा देखिएका समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मुलुकको आर्थिकलगायतका समस्या समाधानका लागि बनेको सरकारले पनि केही गर्न सकेन भने के गर्ने भन्दै चासो जनतामा रहेको उहाँले बताउनु भयो ।
पूर्वराष्ट्रपति भण्डारीले शिक्षाको क्षेत्रलाई सुधार गर्दै अध्यापनका लागि बाहिर जानुपर्ने अवस्थालाई अन्त्य गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता रहेको पनि बताउनु भयो ।
राष्ट्र निर्माणमा शिक्षा क्षेत्र मूल खम्वा भएकाले यस क्षेत्रलाई समयानुकूल बनाउँदै लैजानुपर्ने उहाँको भनाइ छ ।
भण्डारीले युवा जनशक्तिहरुलाई स्वदेशमा नै रोक्न र उत्पादनमा जोड्न सक्नुपर्ने आफ्नो मान्यता रहेको पनि बताउनु भयो । सो अवसरमा बिद्यालयलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्